काठमाण्डौ । कवि, गीतकार एवम् गजलकार सिर्जु शाह उपन्यासकारका रुपमा उभिएकी छन् । शाहले पहिलो कृति उपन्यास ‘बैकिनी’ नेपाली साहित्य भण्डारलाई दिएकी हुन् ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित लोकार्पण एवम् विमर्श कार्यक्रममा साहित्यकार, पत्रकार एवम् विशिष्ट व्यक्तित्व कृष्ण धरावासी, उमा सुवेदी, प्रेम कैदी, टीकाराम यात्री लगायतले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् ।

प्रतिनिधि सभाका सांसदहरू ज्ञानेन्द्र शाही र सावित्री मल्ल, महिला नेत्री कुन्ती शाही, वरिष्ठ पत्रकार एवम् साहित्यकार रविन्द्र मिश्र लगायत साहित्य, राजनीति र सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा कृतिमाथिको विमर्शमा बोल्दै साहित्यकार कृष्ण धरावासीले ‘बैकिनी’ले कर्णालीका महिलाले भोग्दै आएका दुःख, अभाव र संघर्षलाई गहिरोसित चित्रण गरेको बताए। पहिलो कृति भए पनि भाषाशैली, कथानक र प्रस्तुतिका दृष्टिले उपन्यास सशक्त रहेको उनले बताए ।
समालोचक उमा सुवेदीले उपन्यासले यथार्थ र कल्पनाको सुन्दर संयोजन गर्दै महिलाका संघर्षका अनेक आयाम उजागर गरेको बताइन्। उनले नीति निर्माण तहमा रहेका व्यक्तिहरूले समेत यस्तो कृति अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याइन्। ‘पहिलो कृति भएकोले यो कृतिलाई नै उत्कृष्ट त म भन्दिनँ तर महिलाका यति संवेदनशिल बिषयलाई गहनतासहित लेखेकोमा म बहिनीलाई सलाम गर्छु ।’ लेखक सुवेदीले भनिन् । सुवेदीका दृष्टिमा लेखक सिर्जु शाहमा साहित्य (विशेषत: उपन्यास) लेखनमा प्रचुर सम्भावना छ ।
लेखका सिर्जु शाहका अनुसार जागिरे जीवनका क्रममा २०६३/०६४ मा मनोपरामर्श गर्ने क्रममा भेटिएका महिलाहरूका वास्तविक भोगाइ, दुःख र संघर्षहरूले उनलाई ‘बैकिनी’ लेख्न प्रेरित गरेका हुन्। ‘मैले त्यतिबेला नै यी कथालाई एक दिन लेख्छु भन्ने सपना देखेको थिएँ । समयक्रममा मलाई लेख्न हुटहुटी लाग्यो, त्यही हुटहुटीले बैकिनी जन्मियो ।’ शाहले भनिन् ।
एक्काइसौं शताब्दीमा नेपाली समाजमा महिलाले सामना गरिरहेका चुनौतीहरूलाई साहित्यमार्फत आवाज दिने प्रयासस्वरूप ‘बैकिनी’ उपन्यास तयार भएको उनले बताइन्।
उपन्यास ‘बैकिनी’ अक्षर आँगन प्रकाशनले बजारमा ल्याएको हो ।
