काठमाडौँ । डा. चन्द्र गिरीले ‘डङ्की, सपनाको कालबाटो उपन्यास नेपाली साहित्यको भण्डारमा थपेका छन्। बुकहिल पव्लिकेशनबाट पुस्तक प्रकाशन भएको हो ।
पुस्तकका लेखक डा. चन्द्र गिरी, मदन पुरस्कार विजेता सुप्रसिद्ध साहित्यकार कृष्ण धराबासी, साहित्यकारहरू वसन्त बस्नेत, बिना थिङ र शंकर गिरी ‘पथिक’ले संयुक्त रूपमा पर्यटन बोर्ड्को सभाहलमा आयोजित भव्य कार्यक्रमबीच असार १४ गते आइतबारका दिन पुस्तक लोकार्पण गरेका हुन् ।
‘डङ्की’ अवैध बाटोबाट अमेरिका प्रवेश गर्ने एक नेपाली युवकको कथा भएको बक्ताहरूले बताएका छन् । सुन्दर भविष्यको सपना बोकेर जोखिमपूर्ण अवैध बाटो हुँदै संसारभरबाट अमेरिका प्रवेशको प्रयास गर्ने र प्रवेश गर्न सफल हुने लाखौँ आप्रवासीको प्रतिनिधिमूलक साझा कथा पनि हो । उपन्यासमा अनधिकृत रुपमा अमेरिका प्रवेश पछिको सङ्घर्षको कथालाई पनि रोचक ढङ्गमा प्रस्तुत गरिएको छ । यथार्थपरक कथामा आधारित उपन्यासले अवैध बाटो (डङ्की रुट) को यात्रा कति खर्चालु र डरलाग्दो छ भन्ने कुरा छर्लङ्ग पारेको कार्यक्रममा बताईएको छ ।
वातावरण क्षेत्रका विश्वप्रसिद्ध वैज्ञानिक डा गिरी मेन्ग्रोभ नक्साङ्कन तथा अनुगमनका अगुवाका रुपमा परिचित छन् । यसअघि ‘मैले नदेखेको सपना’ (आत्मकथा) र ‘संसारको सेरोफेरो’ (यात्रा संस्मरण) गरी नेपाली भाषाका दुई पुस्तक, ‘मैले नदेखेको सपना’कै अङ्ग्रेजी अनुवाद गरि डेढ दर्जन जति गीत प्रकाशित गरिसकेका डा. गिरी युएस इन्भायरोन्मेन्ट प्रोटेक्सन एजेन्सीमा वरिष्ठ सल्लाहकारका रुपमा कार्यरत छन् ।
उनी ड्युक विश्वविद्यालयमा एड्जन्क्ट प्रोफेसरका रुपमा पनि आवद्ध छन् ।
नेपालको सरकारी सेवाबाट आफ्नो पेसागत यात्रा सुरु गरेका उनले थाइल्याण्डस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप), कोलम्बिया युनिभर्सिटी, नर्थ क्यारोलाइना स्टेट युनिभर्सिटी, साउथ डकोटा स्टेट युनिभर्सिटी तथा युनाइटेड स्टेट्स जिओलोजिकल सर्भे (युएसजीएस) जस्ता अन्तर्राष्ट्रिय प्रतिष्ठानमा कार्य गरेका छन् ।

