टोखा नगरपालिका १ नं वडाको आयोजना तथा नेपाली लेखक संघको सह-आयोजनामा आज असार १३ गते सडक कविता क्रान्ति २०३६ का नायकहरू मध्ये चारलाई सम्मान गरिएको खबर छ। सोही अवसरमा साहित्य जगेर्ना तथा प्रवर्द्धन कार्यक्रम सहित रचना वाचन पनि गरिएको थियो।
वडाध्यक्ष रमेशकुमार लमिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखक एवम् पत्रकार किशोर नेपालको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रमका संयोजक माधव विडारी चेतनपथले टोखामा हुने गरेको साहित्यिक कार्यक्रमबारे बताएका थिए।
कार्यक्रममा सडक कविता क्रान्ति २०३६ का कविहरू हरि अधिकारी, किशोर पहाडी, राधेश्याम लेकाली तथा सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’लाई सम्मान गरिएको थियोे।
प्रमुख अतिथि किशोर नेपालले कविहरूको सम्मानबाट इतिहास सम्झेकोमा खुशी लागेको बताउँदै सम्मानित कविहरूलाई बधाई दिएका थिए।
कार्यक्रममा सम्मानित स्रष्टा हरि अधिकारीले सडक कविता क्रान्ति २०३६ को बारेमा बताएका थिए ।यसै क्रममा उनले भानु पत्रिकाका सम्पादक भवानी घिमिरेको योगदानको स्मरण गरेका थिए।
साहित्य र चेतनाबिच अन्तरसम्बन्ध विषयमा लेखक तथा पत्रकार पुरुषोत्तम दाहालले आफ्ना भनाइ राखेका थिए। उनले साहित्य र चेतना परिपूरक रहेको बताउँदै कलाकार गहना नभएर हृदयको स्पन्दन रहेको बताए।
बालसाहित्यका लेखक डा. शैलेन्दुप्रकाश नेपालले बालसाहित्यको चर्चा गर्दै पठनसंस्कृतिको विषयमा विचार राखेका थिए । उनले घर तथा विद्यालय दुबै स्थानमा बालमैत्री पुस्तक नभएको बताउँदै विद्यालयमा बालपुस्तकका नाममा अन्य पुस्तक राखेर विद्यार्थीले नपढ्ने आरोप लगाएको कुरा पनि बताए। खासगरी ५ वर्षमा बालबालिकाले १००० पुस्तक पढ्नुपर्ने कुरामा उनलेे जोड दिएका थिए।
आजको कार्यक्रमका सूत्रधार कवि प्रकाश घायलले आफ्नो भनाइ राख्दै सडक कविता क्रान्तिमा सहभागी सबैजना कविहरूलाई समेट्न नसके पनि चार जना अग्रज कविहरूलाई सम्मान गर्न पाउँदा आफ्नो धेरै वर्षअघिदेखिको सपना पूरा भएको बताए।
दोस्रो सत्रमा कविता तथा गजल वाचन कार्यक्रम भएको थियो। दोस्रो चरणको कार्यक्रम कवि प्रज्वल अधिकारीले सञ्चालन गरेका थिए। कार्यक्रममा कवि सोझो गाउँले, हरि अधिकारी, शकुन्तला जोशी, कल्पना काफ्ले, सुशीला शर्मा, रञ्जु दाहाल, रोशन पुन, लिलामाया ढकाल, माया बस्नेत थापा, सरस्वती अर्याल, उत्तम भेट्वाल, अञ्जना पौडेल, बिसु कुमार के.सी लगायत २५ जना कविहरूले कविता वाचन गरेका थिए।
कार्यक्रममा वडा सदस्य सुनिताअधिकारीले स्वागत मन्तव्य राखेकी थिइन्। उनलेे ज्ञान र साहित्यको विकासका लागि कार्यक्रम आयोजना गरिएको बताउँदै उपस्थित सबैप्रति आभार प्रकट गरेकी थिइन्।
पहिलो चरणको कार्यक्रमका सञ्चालक कवि बाबु त्रिपाठी रहेका थिए।
तेस्रो चरणमा गजल वाचन कार्यक्रम रहेको थियो। यस चरणमा एम. पी पाण्डे, वसन्त ओली वसन्ती, रोमा लम्साल, रुपक बनवासी, संगीता थापा, बिनोद खत्री आकाश लगायतले गजल वाचन गरेका थिए। यो चरणमा गजलकार बिमला दाहाल सहजकर्ताको भूमिकामा देखा परेकी थिइन् ।
कार्यक्रम टोखाको झोरस्थित झरना पार्टी प्यालेसमा भएको थियोे।

