मुन्धुमको आँखाबाट जीवन र प्रेमको व्याख्या
-मिसन अधिकारी
काठमाडौँ — कथाकार सुरेश यक्सोकृत कथासंग्रह ‘पेनिबा’ मंगलबार राजधानीमा विमोचन गरिएको छ। पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजित समारोहमा वरिष्ठ कवि एवम् मुन्धुमविद् बैरागी काइला, प्रहरी महानिरीक्षक तथा कवि–गीतकार चन्द्रकुबेर खापुङ, साहित्यकार श्रवण मुकारुङ, विना थिङ, कोशी प्रदेशसभा सदस्यसमेत रहेकी कवि मिना श्रेष्ठ, समालोचक डा. तुलसी गौतम र कवि शशी लुमुम्बूले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे।
मैयुङ्ट्याम्के साल्पा सिलितुङ पर्यटन प्रवर्द्धन केन्द्र र सभ्यता अन्वेषण केन्द्रद्वारा आयोजित कार्यक्रममा सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष शशी लुमुम्बूले अध्यक्षता गरेका थिए।
कार्यक्रममा भुवन सिंह र साथीहरूले लिम्बू सांस्कृतिक नृत्य च्याब्रुङ प्रस्तुत गरेका थिए।
‘मुन्धुमको दृष्टिबाट कथा’
समालोचक डा. तुलसी गौतमले पेनिबा कथासंग्रहमा कथाकारले मुन्धुम दर्शनको आँखाबाट प्रेम र जीवनको अर्थ खोजेको बताए। “मुन्धुमलाई कथा–वाचनको माध्यमबाट उजागर गर्नु नै यस कृतिको सौन्दर्य हो,” उनले भने।
साहित्यकार विना थिङले पेनिबाका कथाहरू सरल भाषामा लेखिएका भए पनि सांस्कृतिक गहिराइ बोकेको बताइन्। “यी कथाहरू आफ्नै दर्शन, संस्कार र अस्तित्वप्रतिको सचेत आव्हान हुन्,” उनले भनिन्।
‘सारतत्व नै सिर्जनाको आत्मा’
कवि श्रवण मुकारुङले कुनै पनि सिर्जनाको शक्ति त्यसको सारतत्वमा निहित हुने बताए। “विषय वा प्रस्तुति भन्दा पनि कृतिले बोकेको ‘स्टाटिक भ्यालु’ नै बलियो कुरा हो,” उनले भने।
कवि पी.बी. सेलीको ‘द ट्रीप अफ लाइफ’ कविता स्मरण गर्दै उनले थपे, “मानिसभन्दा माथि प्रेम, प्रेमभन्दा माथि पवित्रता, र अन्ततः समयभन्दा माथि ईश्वर— यही अनुभूति सिर्जनाको गहिरो अर्थ हो।”
‘लिम्बू स्वयंमाथिको व्यङ्ग्य’
प्रहरी महानिरीक्षक खापुङले कथाकार यक्सो आफ्ना ज्वाइँ भएको रहस्य खुलाउँदै उनको साहित्यिक यात्रामा सफलता कामना गरे।
मुख्य अतिथि कवि काइलाले पेनिबाका कथाहरू सरल भाषामा गहिरो अर्थ बोकेको बताए। “शब्द सरल छन्, तर अर्थ असाधारण गहिरो छ,” उनले भने।
उनका अनुसार, पेनिबामा वर्गीय विभेद, शोषण र असमानता जीवन्त रूपमा उतारिएको छ। “शीर्षक देख्दा बाहुन–क्षेत्रीमाथि व्यङ्ग्य होला सोचेँ, कथा पढ्दा त लिम्बूहरूले आफैंमाथि हानिएको छड्के रहेछ,” काइलाको भनाइ थियो।
१५ कथाको एउटा स्वर
पेनिबा कथासंग्रहमा बैंकिङ कसुर, नयाँ जुत्ता, मुड, कन्ये कान्छा, आइफोन काण्ड, नरोजेको बाटो, नोटबुक: एक रहस्य, पुरानो हुँदैन माया लगायत १५ कथा समावेश छन्।
कथाहरूमा प्रेम, अस्तित्व, विस्थापन, सांस्कृतिक द्वन्द्व र समयको कठोरता विषयवस्तुका रूपमा आएका छन्।
रत्न पुस्तक भण्डारबाट हार्डकभरमा प्रकाशित यस पुस्तकको मूल्य ३९९ रुपैयाँ रहेको छ।
कार्यक्रमका अन्त्यमा कवि शशी लुमुम्बूले सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए।
धनकुटाका स्थायी नागरिक लेखक सुरेश यक्सो हाल हङकङमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् ।

