वर्षा औसतभन्दा बढी भए पनि मृतक संख्या कम, इलाम सबैभन्दा बढी प्रभावित
काठमाडौँ — गत वर्षको तुलनामा यस वर्ष मनसुनमा जनधनको क्षति उल्लेखनीय रूपमा घटेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष (२०८२) देशभर १ हजार ४५४ विपद् घटना दर्ता भएका छन्। गत वर्ष भने २ हजार १ सय ३९ घटना भएका थिए।
प्राधिकरणको विवरण अनुसार, गत वर्ष विपद्मा परेर ४९५ जनाले ज्यान गुमाएका थिए भने यस वर्ष मृतक संख्या घटेर १४० पुगेको छ। त्यस्तै, बेपत्ता हुने संख्या ६६ बाट घटेर ३० पुगेको छ।
विपद्का कारण यस वर्ष ५ हजार ९९५ घरपरिवार प्रभावित भएका छन्। गत वर्ष यो संख्या १० हजार ८२३ थियो। यस्तै, घाइते हुने संख्या पनि ५२२ बाट घटेर ३०० पुगेको प्राधिकरणले जनाएको छ।
यस वर्ष बाढीका २९२, पहिरोका ५१३, भारी वर्षाका ३९७ र चट्याङका २५२ घटना दर्ता भएका थिए।
बाढीमा ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते भए भने ३ हजार २ सय घरपरिवार प्रभावित भए।
पहिरोमा ६७ जनाको मृत्यु, ४ जना बेपत्ता र ७७ जना घाइते भए।
भारी वर्षाका कारण ७ जनाको मृत्यु, २० जना घाइते र ९६६ घरपरिवार प्रभावित भए।
त्यस्तै, चट्याङका कारण २९ जनाको मृत्यु, १८९ जना घाइते र ३११ घरपरिवार प्रभावित भएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष मनसुन सरदरभन्दा केही दिनअघि, अर्थात् जेठ १५ गते नेपाल प्रवेश गरी असोज २४ गते बाहिरिएको थियो।
यो अवधिमा देशभर औसत १ हजार ३७५ दशमलव ४ मिलिमिटर वर्षा भयो, जुन सरदरको ९७.२३ प्रतिशत हो।
औसतभन्दा बढी वर्षा भए पनि मानव तथा भौतिक क्षति कम भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार यस वर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ प्रभावकारी रूपमा कार्यान्वयन भएको थियो। कार्यकारी प्रमुखको नेतृत्वमा कमाण्ड सेन्टर स्थापना गरी ३८ घण्टासम्म निरन्तर समन्वय र निर्देशन जारी गरिएको थियो ।
मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित जिल्ला बन्यो। इलाममा मात्रै ३९ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। सरकारले इलामलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
त्यस्तै, रसुवाको भोटेकोशीमा असार २४ गते आएको बाढीमा १८ जना बेपत्ता भएका थिए। तीमध्ये ११ वटा शव र केही मानव अंग फेला परेका छन्। बाढीले रसुवागढी नाकाको मितेरी पुल, सुक्खा बन्दरगाह र तीनवटा जलविद्युत् आयोजना बगाएको थियो।
मनसुन सुरुमा भने मधेश प्रदेश सुक्खाको समस्याबाट प्रभावित रह्यो। सरकारले साउन ८ गते मधेश प्रदेशलाई तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।
दश वर्षको विपद् विवरण
वर्ष घटना संख्या मृतक संख्या
२०७३ ६४२ २८९
२०७४ ६२४ २८९
२०७५ ६९३ १२२
२०७६ ८४६ २०३
२०७७ १,०१५ ३८२
२०७८ ७३७ १६५
२०७९ ७१२ १७९
२०८० ८९१ ९२
२०८१ २,१३९ ४९५
२०८२ १,४५४ १४०

