काठमाण्डौ । सुरेश यक्सोकृत कथासंग्रह ‘पेनिबा’को मंगलबार काठमाण्डौमा विमोचन सम्पन्न भएको छ । वरिष्ठ कवि एवम् मुन्धुमविद बैरागी काइला, प्रहरी महानिरिक्षक समेत रहेका कवि तथा गितकार चन्द्र कुबेर खापुङ, साहित्यकार श्रवण मुकारुङ, साहित्यकार बिना थिङ, कोशी प्रदेश सभा सदस्यसमेत रहेकी कवि मिना श्रेष्ठ, समालोचक डा तुलसी गौतम, कवि शशी लुमुम्बूलगायतले यक्सोको कथाकृतिको विमोचन गरेका हुन् ।
मैयुङ्ट्याम्के साल्पा सिलितुङ पर्यटन प्रवर्द्धन केन्द्र र सभ्यता अन्वेषण केन्द्रद्वारा पर्यटन बोर्ड भृकुटीमन्डपमा आयोजित विमोचन समारोह
सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष शशी लुमुम्बूको सभापतित्वमा सम्पन्न भएको हो ।
विमोचन समारोहमा प्रमुख अतिथी बैरागी काइला, विशिष्ठ अतिथी प्रहरी महानिरिक्षक कवि तथा गीतकार चन्द्रकुबेर खापुङ, कवि श्रवण मुकारुङ, अतिथीहरू कवि मिना श्रेष्ठ (कोशी प्रदेश सभा सदस्य), साहित्यकार बिना थिङ, समालोचक एवम् साहित्यकार डा तुलसी गौतम, गुरुप्रसाद राई लेखक यक्सोका बाजे ससुरा वेदी नारायण खापुङ, लेखक सुरेश याक्सोकी आमा
होमकुमारी खापुङ (फूपू सासू), गंगाराज मुकारुङ, गीतकार भरत बमजन, गुरुप्रसाद राई, फणिन्द्र नेपाल, नवराज राईलगायत थिए ।
कवि समेत रहेकी सञ्चारकर्मी सीता तुम्खेवाले सञ्चालन गरेको कार्यक्रममा भुवन सिंह र साथीहरूद्वारा च्याब्रुङ प्रस्तुत गरिएको थियो ।
साहित्यकार एवम् समालोचक डा तुलसी गौतमले कथाकार सुरेशले कथाकृतिमा मुन्धुमको आँखाबाट जीवन र जगतलाई हेरेको बताए । मुन्धुम दर्शनलाई कथामार्फत बाहिर ल्याउनु नै पुस्तकको सबैभन्दा ठूलो सौन्दर्य भएको उनको भनाई छ ।
पेनिबामा कथाकारले मुन्धुमको आँखाबाट, मुन्धुमको दर्शनबाट प्रेमलाई हेरेको, लिम्बू संस्कार, संस्कृतिको कोणबाट कथा लेखिएकोमा खुशी व्यक्त गरे ।
समाजलाई अब्बल बनाउन बाटो दिनु कथाकारिताको महत्वपूर्ण कार्य रहेको अभिव्यक्ती थियो । उनले भने, ‘सुरेश आफूलाई आफैंले बिर्सिएको संस्कार, संस्कृति, भाषा, भेषभुषातर्फ फर्किन आवश्यक ठान्छन् । लिम्बूहरु दिन प्रतिदिन ‘पेनिबा’ हुँदै गैरहेकोमा उनलाई दु:ख छ ।’
साहित्यकार विना थिङले पेनिबाका कथाहरू सरल भाषामा लिखित सांस्कृतिक एवम् दार्शनिक कथाहरू भएको बताईन् ।
कथाले आफ्नो दर्शन तथा संस्कृतितिर फर्किन आव्हान गरेको आफ्नो दर्शन आफ्नो संस्कार बिर्सिएर लिम्बूहरू पेनिबा तथा ज्यार्दी भैरहेकोप्रति तीखो व्यंग्य गरिएको साहित्यकार थिङले बताइन् । पेनिबाका कथाले कथाकार यक्सोको सोच, विचार, चिन्तन तथा व्यक्तित्वको एउटा चिनारी दिने उनको दावी थियो।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ कवि तथा गीतकार श्रवण मुकारुङ कुनै सिर्जना बिषयबस्तु, प्रस्तुतिभन्दा त्यसको ‘स्टाटिक भ्यालु’ले बलियो हुने बताए । बिषयबस्तु, प्रस्तुति सबै रुपमात्र रहेको दावी गर्दै मुकारुङले सारतत्व नै महत्वपूर्ण कुरा भएको औल्याए ।
चर्चित कवि पी बी सेलीको ‘द ट्रीप अफ लाइफ’ कविता उल्लेख गर्दै मुकारुङले भने, ‘मानिसभन्दा माथि प्रेम छ, प्रेम भन्दा माथि पवित्रता, पवित्रता भन्दा पनि माथि मृत्यु छ र मृत्यु भन्दा माथि समय छ । र, अन्तिमममा समयभन्दा माथि इश्वर छ भन्ने कुरा त्यो कविताको सार म बिर्सन खोजेर पनि बिर्सन्न । म त्यो कविताको बिम्ब, प्रतीक सम्झनु आवश्यक ठान्दिनँ । मुख्य कुरा नै त्यसको सार हो ।’ शुभकामना मन्तव्य राख्नेक्रममा विशेष अतिथि मुकारुङले सुरेश यक्सोको सट्टामा पटक-पटक रोशन यक्सो उच्चारण गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथी प्रहरी महानिरिक्षक चन्द्रकुबेर खापुङले कथाकार आफ्नो ज्वाइँ रहेका रहस्य खुलाउँदै उनको कथाकारिताको उज्वल भविष्यको कामना गरे ।
कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ कवि तथा मुन्धुमविद बैरागी काइलाले पेनिबा कथासंग्रहका कथामार्फत यक्सो अनुभवी र राम्रा कथाकार हुन् भन्ने प्रतीत भएको बताए । धनकुटामा जन्मेर हङकङलाई कार्यक्षेत्र बनाएका यक्सो कथाकार मात्र हैनन् कवि, साहित्यिक अभियन्ता पनि भएकोमा खुशी व्यक्त गरे ।
रत्नपुस्तक भण्डारबाट प्रकाशित कथासंग्रहको भाषा सरल भएपनि अर्थमा असाधारण गहिराई भएको दावी गरे ।
नयाँ जुत्ता बढो मनोवैज्ञानिक कथा भएको बताउँदै बरिष्ठ कवि काइलाले यस कथामा गाह्रो, अप्ठ्यारो कसरी पर्छ भनेर आकर्षक ढंगले प्रस्तुत गरेको खुलस्त गरे । छोटा संवादात्मक भाषा । शोषण, गरिबी बर्गीय असमानता तथा विभेदलाई बिषय बनाएका कथा भएको उनको प्रष्टोक्ति थियो ।
उनले भने, ‘ पेनिबा शीर्षक देखेपछि बाहुन क्षेत्रीलाई छड्के हानेको होला सोचेको थिएँ, कथाभित्र त लिम्बू (आफैं)लाई नै पो छड्के हानेको रैछ ।’
कुनै समय कसैले आफूलाई यसरी व्यंग्य गरेको समेत सार्वजनिक गरे- ‘काठमाण्डौमा एउटा बाहुन कवि छ, त्यसको नाम बैरागी काइला हो ।’
अन्तिममा कवि शशी लुमुम्बूले सहभागी सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए । लेखक यक्सोको अनुपस्थितिमै उनको कथाकृतिको विमोचन सम्पन्न भएको हो ।
पेनिबा कथासंग्रहमा बैंकिङ कसुर, नयाँ जुत्ता, पेनिबा, मुड, कन्ये कान्छा, आइफोन काण्ड, नरोजेको बाटो, अप्ठेरे कान्छा, नोटबुक: एक रहश्य, पुरानो हुँदैन माया शिर्षकका कथा छन् ।
त्यसरी नै पिँजडाको सुगा, प्रेम: एक विश्वास, लेखकको आत्महत्या, छोरा मार्ने आमाको बयान र डान्सबारमा छापा शीर्षक सहितका १५ कथा सलंग्न रहेका छन् ।
रत्न पुस्तक भण्डारबाट हार्डकभरमा प्रकाशित यस पुस्तकको मूल्य ३९९ रुपियाँ रहेको छ ।

