काठमाडौं । नेपाली साहित्य प्रवर्द्धनमा लामो समयदेखि सक्रिय एपेक नेपालले यस वर्षको ‘विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार’ कर्णाली प्रदेश, सुर्खेतकी युवा सर्जक हिमा रोका “प्रतिज्ञा”लाई प्रदान गर्ने निर्णय गरेको छ।
४० वर्षमुनिका सर्जकलाई लक्षित गरी स्थापना गरिएको उक्त पुरस्कारअन्तर्गत देश–विदेशबाट प्राप्त लघुकथाका पाण्डुलिपिमध्ये उत्कृष्ट एक कृति छनोट गरी पुस्तकका रूपमा प्रकाशन गरिन्छ। सोहीअनुसार प्रतिज्ञाको पाण्डुलिपि पुस्तकका रूपमा प्रकाशित भई चैत २५ गते काठमाडौंमा आयोजना हुने एपेक नेपालको २७औँ वार्षिकोत्सव समारोहमा लोकार्पण गरिने संस्थाले जनाएको छ।
सुर्खेतको घुमखहरेमा जन्मिएकी प्रतिज्ञा हाल गुर्भाकोट नगरपालिका मेहेलकुनामा बसोबास गर्दै आएकी छन्। हिमा रोका ‘प्रतिज्ञा’ले लघुकथासँगै गजल, मुक्तक, टुक्का कविता र झिल्का विधामा पनि कलम चलाउँदै आएकी छन्।
गत वर्षबाट सुरु गरिएको विश्व-ज्योती पाण्डुलिपि पुरस्कार अघिल्लो संस्करणमा सुदूरपश्चिमका युवा कवि हेमन्त शिशिर को कविता कृति ‘बन्द घरको झ्याल’ लाई प्रदान गरिएको थियो। यो बर्षको पुरस्कार लघुकथामा प्रदान गर्ने निर्णयसाथ पाण्डुलिपि मागिएको थियो ।

