काठमाण्डौ । पर्सागढी नगरपालिकामा एक पुरुषले आफ्नै पत्नीमाथि गम्भीर हिंसा गरेका छन् । नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय विशनाथ सहनीले चैत १ गते आफ्नी पत्नी हरिकलादेवी सहनीमाथि धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका छन्।
घटनामा पीडितको खुट्टामा गम्भीर चोट पुगेको छ।
घटना भएको चार दिन बितिसक्दा पनि आरोपी अझै फरार रहेका छन्। पर्सा जिल्लाका प्रहरी प्रमुख सुदिपराज पाठकले अभियुक्तको खोजी तीव्र पारिएको जानकारी दिए। उनका अनुसार आरोपी जङ्गलतर्फ लुकेको आशंकामा प्रहरी परिचालन गरिएको छ।
यसबीच, पर्सा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुशीलकुमार कानुले पीडितको उपचार खर्च बेहोर्ने घोषणा गरेका छन्। उनले पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचार र कुरुवाको सम्पूर्ण खर्च व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै दोषीलाई छिटो कानुनी दायरामा ल्याउन प्रहरीलाई आग्रह गरेका छन्।
घाइते हरिकलादेवीको हाल एलएस न्यूरो अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

