काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सुरु गरेको ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’ छोटो समयमै युवामाझ लोकप्रिय भएको छ।
खाता सञ्चालनमा आएको ३–४ महिनामै उल्लेख्य आकर्षण देखिएको बैंकका डिपोजिट मार्केटिङ प्रमुख पारस विक्रम थापाले बताए। जेनजी पुस्ताको आवश्यकता र रुचिलाई ध्यानमा राखेर यो खाता डिजाइन गरिएको हो।
“डिजिटल कारोबारमा सक्रिय युवालाई लक्षित गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र डेबिट कार्डजस्ता सेवाहरू एउटै प्याकेजमा उपलब्ध गराएका छौं,” थापाले भने। ग्राहकले यी तीन सेवा एकैपटक लिएमा मात्र ५०१ रुपैयाँमै उपलब्ध हुने व्यवस्था गरिएको छ भने ई–कम कार्ड निःशुल्क प्रदान गरिनेछ।
यो खाता न्यूनतम १०० रुपैयाँमै खोल्न सकिने र वार्षिक ३.१ प्रतिशत ब्याजदर पाइने बैंकले जनाएको छ। साथै, ‘रिफर एण्ड रिवार्ड’ कार्यक्रममार्फत एक ग्राहकले अर्को जेनजी ग्राहक भित्र्याएबापत २०० रुपैयाँसम्म पुरस्कार पाउने व्यवस्था गरिएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले प्रत्येक जेनजी खाताबाट २५० रुपैयाँ जेनजी आन्दोलनका शहीद परिवारका लागि सीप विकास तालिम तथा सहयोगमा योगदान गर्ने जनाएको छ।
युवालाई कर्जा पहुँचमा सहज बनाउन भर्चुअल क्रेडिट कार्डको सुविधा पनि ल्याइएको छ, जसमार्फत रोजगारीमा रहेका ग्राहकले निश्चित सीमासम्म ऋण लिन सक्नेछन्।
सन् १९९७ देखि २०१२ सम्म जन्मिएका पुस्तालाई लक्षित गरिएको खाता खोल्न १८ वर्ष उमेर पूरा हुनुपर्नेछ। हालसम्म ३ हजारभन्दा बढी युवाले खाता खोलिसकेको बैंकले जनाएको छ।
बैंकले छिट्टै भिडियो केवाईसी सेवा सुरु गर्ने तयारी गरिरहेको छ, जसले ग्राहकलाई पूर्ण रूपमा अनलाइनमार्फत खाता खोल्ने सुविधा दिनेछ। साथै, जेनजी ग्राहकलाई लक्षित गर्दै टपअपमा २५ प्रतिशतसम्म क्यासब्याकजस्ता अफर पनि ल्याइएको बैंकले जनाएको छ।

