काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीले बालविवाहको दबाब चिरेर प्रतिनिधिसभासम्मको यात्रा तय गरेकी छन्। सानैदेखि बिहेका प्रस्ताव र सामाजिक दबाबको सामना गर्दै आएकी रुबीले आफ्नै अडानका कारण बालविवाहबाट जोगिन सफल भएकी हुन्।
बालविवाह र दाइजो प्रथाबाट पीडित परिवारको अवस्था नजिकबाट देखेकी उनले “पहिले देशको सेवा, अनि मात्र बिहे” भन्ने अठोट लिइन्। सोही दृढताका साथ अघि बढेकी रुबी अहिले सिभिल इञ्जिनियरिङको अध्ययन गरिरहेकै बेला समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनी श्रम संस्कृति पार्टीबाट संसद्मा पुगेकी हुन्।
निर्वाचन आयोगबाट प्रमाणपत्र लिएपछि भावुक बनेकी रुबीले मधेसमा विद्यमान बालविवाह र दाइजो प्रथाविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरिन्। उनका अनुसार मधेसमा अझै पनि धेरै छोरीहरूको १६ वर्ष नपुग्दै विवाह गरिने चलन कायम छ।
विदेशी रोजगारीको पीडासँग पनि उनको कथा जोडिएको छ। उनका बुबा दशकदेखि साउदी अरेबियामा मजदुरी गरिरहेका छन्। “स्वदेशमै रोजगारी भए कसैलाई विदेशिन मन लाग्दैन,” भन्दै उनले अबको प्राथमिकता आफ्ना बुबाजस्ता हजारौँ नेपालीलाई स्वदेशमै रोजगारी दिलाउनु रहेको बताइन्।
संसद्मा विविध अनुहारको उपस्थिति
समानुपातिकतर्फ निर्वाचित सांसदहरूको प्रमाणपत्र वितरण कार्यक्रममा विभिन्न पृष्ठभूमिका महिलाको उल्लेखनीय उपस्थिति देखियो। अनुष्का श्रेष्ठ, रिमा विश्वकर्मा लगायत चर्चित अनुहारदेखि लिएर समाजका पिँधमा रहेका समुदायका प्रतिनिधिहरू समेत संसद्मा प्रवेश गरेका छन्।
चितवनकी समिना मियाँले मुस्लिम महिलाको सशक्तिकरणका लागि शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्ने बताइन्। त्यस्तै, दाङकी भीमकुमारी बुढामगरले जनयुद्धकालदेखिको आफ्नो राजनीतिक सक्रियतालाई संसद्मा पनि निरन्तरता दिने प्रतिबद्धता जनाइन्।
पद्माकुमारी अर्यालले संसद्मा जनहितका पक्षमा उभिने धारणा राखिन् भने दलित अधिकारका लागि सक्रिय गणेश विश्वकर्मा र वादी समुदायको प्रतिनिधि सीता वादीले पनि आफ्नो समुदायको आवाज बुलन्द गर्ने बताएका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० सांसदलाई बिहिबात बहादुर भवनस्थित आयोगको केन्द्रीय कार्यालयमा प्रमाणपत्र वितरण गरिएको हो।
कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले नव–निर्वाचित सांसदलाई स्वागत गरेका थिए।

