काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल बनाउन योगदान दिने कर्मचारी, सुरक्षाकर्मी र आम नागरिकप्रति आभार व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले कर्णाली क्षेत्रको भ्रमण गर्दै निर्वाचनमा सहयोग पु¥याउने सबै पक्षलाई धन्यवाद दिएकी हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार निर्वाचनअघि निरीक्षण भ्रमण गर्न नसकेकी कार्की अहिले सोही उद्देश्यले कर्णाली पुगेकी हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री बिहान रारा ताल पुगेकी थिइन्, जहाँ उनले मुगुका सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गरिन्। त्यसपछि खलङ्गा जुम्ला पुगेर त्यहाँका सुरक्षाकर्मीहरूसँग छलफल गर्दै कठिन भूगोल र सीमित स्रोतका बाबजुद प्रभावकारी समन्वयमार्फत निर्वाचन सम्पन्न गराएकोमा प्रशंसा व्यक्त गरिन्।
स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनले शान्तिपूर्ण निर्वाचनका लागि देखिएको एकता र सहकार्यप्रति विशेष धन्यवाद दिइन्। “देशले चुनौतीपूर्ण अवस्थामा पनि लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ, यसको श्रेय सम्पूर्ण नेपाली जनतालाई जान्छ,” उनले भनिन्।
यसैक्रममा प्रधानमन्त्रीले कर्णाली प्राविधिक शिक्षालयको अवलोकन पनि गरिन्। विसं २०३७ मा स्थापना भएको उक्त संस्था नेपालकै प्रारम्भिक प्राविधिक शिक्षालयमध्ये एक मानिन्छ। सो अवसरमा विद्यार्थी, शिक्षक तथा स्थानीयले लालीगुराँससहित उनको स्वागत गरेका थिए।
प्रधानमन्त्रीको यो भ्रमण निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्नुका साथै सरकारप्रति प्राप्त जनसमर्थनप्रति कृतज्ञता प्रकट गर्ने उद्देश्यले गरिएको प्रेस सल्लाहकार रावलले जानकारी दिए ।

