काठमाडौँ । राजधानीमा सञ्चालन भइरहेको सहिद स्मारक महिला लिग तथा पुरुषतर्फको राष्ट्रिय लिग फुटबल प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्राविधिक कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि प्रतियोगिता स्थगित गरिएको जनाएको हो। बिहिबार जारी प्रेस विज्ञप्तिमार्फत एन्फाले लिग तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको हो।
यसैबीच, अध्यागमन विभागले विदेशी खेलाडीको सहभागितासम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। विभागले कुनै पनि विदेशी खेलाडीलाई मैदानमा उतार्नुअघि अनिवार्य रूपमा कार्य सहमति र श्रम स्वीकृति लिनुपर्ने स्पष्ट पारेको छ।
श्रम स्वीकृतिविना विदेशी खेलाडीलाई लिगमा खेलाइएको भन्ने उजुरी परेपछि विभागले त्यसबारे छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ। यही विषयलाई लिएर लिग सञ्चालनमा अन्योल उत्पन्न भएको हो ।

