
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठकको जानकारी दिएका छन्।
बैठकको प्रमुख एजेन्डामा सभापति गगन थापाको राजीनामामाथि छलफल, पछिल्लो राजनीतिक अवस्था, र निर्वाचनमा पार्टीले व्यहोरेको हारबारे समीक्षा रहने छ।
उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने तयारी गरेका छन्।
पार्टी विधानअनुसार सभापति राजीनामा उपसभापतिलाई बुझाउँछन् र उपसभापति त्यसलाई केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्छन्। महामन्त्री प्रदीप पौडेलका अनुसार बैठकको सुरुमा नै सभापति थापाको राजीनामामा छलफल गरी टुंगोमा पुग्ने छ।
उपसभापति शर्माले निर्वाचनको प्रारम्भिक समीक्षा र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव एकैसाथ पेस गर्ने तयारी गरेका छन्। एक पदाधिकारीका अनुसार, केन्द्रीय कार्यसमितिले सर्वसम्मतिबाट थापाको राजीनामा अस्वीकृत गर्ने सम्भावना छ।
संसदीय निर्वाचनमा पराजय व्यहोरेपछि नैतिक जिम्मेवारीबोधका कारण सभापति थापाले राजीनामा दिने निर्णय गरेका थिए। तर, उपसभापति शर्मा र केन्द्रीय नेताहरूले पार्टी एकताबद्ध रहोस् भन्ने दृष्टिकोणमा उनले राजीनामा नदिई अघि बढ्ने वातावरण बनाएका छन्।
विशेष महाधिवेशन (पुस २७–३०) ले शेरबहादुर देउवा नेतृत्वको पुरानो कार्यसमितिलाई भंग गरी थापाले नेतृत्व गरेको नयाँ कार्यसमिति चयन गरेको थियो। त्यसपछि कांग्रेसले ‘बदलियो कांग्रेस, बदल्छौं देश’ जस्ता नारासहित निर्वाचनमा उम्मेदवारी दिएको थियो।
तर, सभापति थापाले प्रत्यक्षतर्फ हार मात्र बेहोरेनन्, कांग्रेसले ३८ सिट मात्रै जितेसँगै कतिपय बिरोधी विचारसमूहका नेताहरूले उनलाई राजीनामा दिने दबाब दिँदै आएका थिए। बैठकपछि थापाको राजीनामा स्वीकृत हुन्छ वा हुँदैन भन्ने प्रश्नको उत्तर आजै स्पष्ट हुने छ।

