काठमाडौं। आज दिउँसोदेखि भोलि बिहानसम्म जल तथा मौसम विज्ञान विभा ले चट्याङ्गसहित वर्षा हुने चेतावनी दिएको छ। विशेषगरी लुम्बिनी र कोशी प्रदेशका जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ।
हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा सामान्यतया बादल लागेको छ। सुदूरपश्चिम, कर्णाली र कोशीका केही स्थानमा हल्का वर्षा वा हिमपात भइरहे पनि शुक्रबारदेखि कर्णाली र सुदूरपश्चिमको पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुने सम्भावना छ।
त्यसैगरी दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशको तराई क्षेत्रमा र शनिबार कोशी प्रदेशका विराटनगर, धनकुटा र धरान आसपासमा तीव्र हावाहुरी चल्ने अनुमान गरिएको छ। हावाहुरीको गति करिब ११९ किलोमिटर प्रतिघण्टा पुग्ने विभागले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि विज्ञप्ति जारी गर्दै नागरिकलाई विशेष सतर्क रहन आग्रह गरेको छ।
जोखिमका कारण रुख ढल्ने, छाना उड्ने, कमजोर संरचना क्षतिग्रस्त हुने र विद्युत् तथा सञ्चार सेवामा अवरोध आउने सम्भावना रहेको प्राधिकरणको चेतावनी छ।
नागरिकहरूले विशेष सतर्कता अपनाउँदै यात्रामा ननिस्कन, झ्याल–ढोकाहरु बन्द राख्न, आगोका स्रोत बन्द गर्न, सवारीसाधन रोक्न वा सुरक्षित स्थानमा बस्न, भिडभाडमा हल्लिन नहुने, जोखिमयुक्त स्थानमा नबस्न, बिजुलीको तार वा लत्रिएको उपकरण छुन नहुने र विद्युत् उपकरण प्रयोग नगर्न उल्लेख गरिएको छ।
मौसमविद् र प्राधिकरणले चेतावनी दिएका क्षेत्रका नागरिकलाई अत्यावश्यक कामबाहेक घरभित्रै रहन र हावाहुरी तथा वर्षासँग सम्बन्धित जोखिमबाट जोगिन सुझाएको छ।

