काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठानले दुई प्रतिष्ठित मुक्तक पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ। प्रतिष्ठानको हालै सम्पन्न कार्यसमितिको बैठकले मुक्तककार उषा शेरचनलाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ र डा. रूपक श्रेष्ठलाई ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो।
घोषित पुरस्कारमध्ये भीमदर्शन मुक्तक पुरस्कारको राशि ५१ हजार रुपैयाँ र कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कारको राशि ३१ हजार रुपैयाँ रहेको छ।
वि.सं. २०१२ भदौ ६ गते जन्मनुभएकी उषा शेरचनका ‘अक्षरहरूका शिविरबाट’ र ‘त्रासदीका हिमनदी’ मुक्तक सङ्ग्रहसहित विभिन्न विधाका एक दर्जन कृति प्रकाशित छन्। उहाँ पोखरामा आयोजित टिकटमा मुक्तक कार्यक्रमका आयोजक संस्था पोखरेली युवा सांस्कृतिक परिवारकी पूर्व उपाध्यक्षसमेत रहनुभएको छ। शेरचन नेपाली मुक्तक क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आउनुभएको छ।
त्यसैगरी वि.सं. २०२२ माघ ६ गते जन्मनुभएका डा. रूपक श्रेष्ठका ‘पोख्तक’, ‘चौशूल’ तथा पोख्तकको अङ्ग्रेजी अनुवादसहित विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित छन्। लामो समयदेखि बेलायतमा बसोबास गर्दै आउनुभएका श्रेष्ठले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली मुक्तकको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ।
मुक्तक विधाको उन्नयन र समृद्धिमा दुवै स्रष्टाले पुर्याएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ। यसअघि भीमदर्शन मुक्तक पुरस्कार यादव खरेल, सरुभक्त र नन्द हाङ्खिमलाई तथा कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार रुद्र ज्ञवाली, अनुराधा ढकाल र खगेन्द्र गिरी कोपिलालाई समर्पण गरिएको थियो।
नेपाली आधुनिक मुक्तकका प्रथम प्रयोक्ता भीमदर्शन रोका तथा मुक्तकका विशिष्ट साधक कृष्णप्रसाद पराजुली, रत्नशम्शेर थापा र चेतन कार्कीको सम्मानमा स्थापित यी पुरस्कारहरू प्रतिष्ठानको वार्षिकोत्सव तथा मुक्तक दिवसका अवसरमा आगामी माघ १८ गते आइतबार विशेष समारोह आयोजना गरी समर्पण गरिने प्रतिष्ठानले जानकारी दिएको छ।

