काठमाडौँ । उपत्यकामा केही दिनदेखि बढ्दो चिसोबाट बुधबार बिहान राहत मिलेको छ। सुरुवाती न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस आसपास रहेको उपत्यकाको तापक्रम एकैचोटि ८ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि सर्वसाधरणलाई राहत मिलेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रेकर्ड गरिएको हो। अघिल्लो दिन मंगलबार सोही समयमा न्यूनतम तापक्रम ४.० डिग्री सेल्सियस मात्र थियो। यद्यपि मंगलबार बिहान ८:४५ बजे गरिएको आधिकारिक मापनमा तापक्रम अझ घटेर ३.५ डिग्री सेल्सियस भएको थियो।
आजको आधिकारिक न्यूनतम तापक्रम पनि बिहान ८:४५ बजे मापन गरिने मौसम महाशाखाले जनाएको छ। मौसमविद्हरूका अनुसार त्यस समयमा तापक्रम बिहानको प्रारम्भिक अवस्थाभन्दा केही घट्न सक्ने सम्भावना छ।
मौसमविद्हरूले न्यूनतम तापक्रम बढ्नु भनेको बिहानको चिसो कम हुनु भएको स्पष्ट पारेका छन्। उनीहरूका अनुसार राति आकाशमा बादल लाग्दा तापक्रम घट्न नपाई न्यानो रहन्छ, जसले गर्दा बिहानको न्यूनतम तापक्रम बढ्छ। गएराति मौसम बदली भई बादल लागेकाले आज काठमाडौँको न्यूनतम तापक्रम बढेको हो।
यसको ठीक उल्टो प्रभाव दिउँसो देखिन्छ। दिउँसो बादल लाग्दा घाम नलाग्ने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लागेर अधिकतम तापक्रम बढ्ने गर्छ।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौँसहित देशका विभिन्न स्थानमा हरेक दिन न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ। न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

