काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा अधिवक्ताहरूको उल्लेखनीय प्रवेशसँगै पार्टीको संगठनात्मक र वैचारिक शक्ति थप सुदृढ बनेको छ। अधिवक्ता भरतराज सुवेदी, महेश्वर प्रसाद चौधरी र उज्वल किशोर घिमिरे नेपाली कम्युनिस्ट पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्।
मंगलबार काठमाडौंस्थित नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता बामदेव गौतमलगायत शीर्ष नेताहरूले नवप्रवेशी अधिवक्ताहरूलाई खादा र फूलमालासहित स्वागत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई अझ संगठित, प्रभावकारी र परिणाममुखी बनाउन कम्युनिस्ट शक्तिहरूको ध्रुवीकरण अपरिहार्य भइसकेको बताए। उनले देश अहिले गम्भीर राजनीतिक, आर्थिक र सामाजिक चुनौतीको मोडमा रहेको उल्लेख गर्दै राष्ट्रिय तागत निर्माणका लागि वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक रहेको स्पष्ट पारे। “देश र जनताको पक्षमा दृढतापूर्वक उभिन सक्ने शक्ति आज नेपाली कम्युनिस्ट पार्टी नै हो,” उनले भने।
दुई दशकदेखि न्याय क्षेत्रमा क्रियाशील सुवेदी, चौधरी र घिमिरेले प्राप्त उपलब्धिहरूलाई जोगाउँदै अग्रगामी दिशामा लैजान नेपाली कम्युनिस्ट पार्टी सक्षम रहेको विश्वासका आधारमा पार्टी प्रवेश गरेको बताए। उनीहरूले न्याय, समानता, गणतन्त्र र विधिको शासनलाई व्यवहारमा लागू गर्न राजनीतिक रूपान्तरण अपरिहार्य भएको धारणा व्यक्त गरे।
नवप्रवेशी अधिवक्ताहरूले विगतमा न्याय क्षेत्रमा भोगिएका सीमाहरू राजनीतिक हस्तक्षेपबिनाको न्याय प्रणालीमार्फत मात्र समाधान हुनसक्ने उल्लेख गर्दै अब जनताको पक्षमा राजनीतिक संघर्षलाई अघि बढाउने प्रतिबद्धता जनाए।
कानुनी क्षेत्रका अनुभवी र वैचारिक रूपमा स्पष्ट व्यक्तिहरूको प्रवेशले पार्टीको नीति निर्माण, कानुनी संघर्ष र लोकतान्त्रिक मूल्यको रक्षा गर्ने अभियानलाई थप बल पुग्ने नेकपाका नेताहरूले विश्वास व्यक्त गरेका छन्।

