काठमाडौँ । सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता तथा महान्यायाधिवक्ता कार्यालयविरुद्ध तथ्यहीन आरोप लगाएको अभियोगमा युवराज सफल (युवराज पौडेल)लाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पौडेललाई मंगलबार काठमाडौँबाट पक्राउ गरिएको हो। घटनाबारे अनुसन्धानका लागि उनलाई अदालतमा पेस गरी तीन दिनको म्यादसमेत लिइएको उनले जानकारी दिए।
प्रहरीका अनुसार महान्यायाधिवक्ता कार्यालयले यही माघ ८ गते पौडेलमाथि अनुसन्धान तथा आवश्यक कारबाहीका लागि पत्राचार गरेपछि उनलाई पक्राउ गरिएको हो। हाल पौडेलविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

