काठमाडौँ । बैतडी जिल्लाका उच्च पहाडी भेगमा बुधबार बिहानैदेखि बाक्लो हिमपात भएको छ। सिगास, खोडपे, अनारखोली र ढोल्यामोडलगायत क्षेत्रमा हिमपात भएको हो।
हिमपातपछि गहुँलगायत हिउँदे बाली सप्रिने आशा बढेकाले किसानहरू हर्षित भएको स्थानीय राजबहादुर टेरले बताए। तर, अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ।
यसैबीच, ढोरपाटनबाट रासस प्रतिनिधिले जनाएअनुसार ढोरपाटनसहित बागलुङ जिल्लाका उच्च पहाडी क्षेत्रमा पनि भारी हिमपात भएको छ।
गएरातिदेखि निरन्तर परेको हिउँका कारण ढोरपाटन उपत्यका तथा आसपासका क्षेत्र सेताम्मे बनेका छन्।
हिमपातका कारण धारामा पानी जमेको छ भने निरन्तर हिउँ परिरहेकाले स्थानीयवासीलाई हिँडडुल गर्नसमेत कठिनाइ भएको छ। ढोरपाटनसँगै निसीखोलाका रिग, पातीहाल्ने, खानीखोला र निसेलढोर क्षेत्रमा पनि हिमपात भएको जनाइएको छ।
हिमपातसँगै हिउँदे बाली राम्रो हुने विश्वास स्थानीय किसानहरूले व्यक्त गरेका छन्।

