काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा अनियमितता भएको आशङ्कामा यातायात व्यवस्था कार्यालय, चाबहिलका कार्यालय प्रमुखसहित २७ जना कर्मचारीमाथि अनुसन्धान शुरु गरेको छ । आयोगले मंगलबार मोबाइल फोन नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको हो।
आयोगका अनुसार सवारी चालक अनुमतिपत्रका लागि घुस लिएको आरोपमा मंगलबार अख्तियारको टोलीले २७ जनासँग सम्बन्धित मोबाइल नियन्त्रणमा लिएको हो। यातायात व्यवस्था कार्यालय, चाबहिलका प्रमुख पेशलकुमार पोखरेलसहित १७ जना कर्मचारीका २५ वटा मोबाइल फोन नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको अख्तियारले जनाएको छ।

त्यसैगरी, उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित तीन जना प्रहरीका मोबाइल फोन पनि नियन्त्रणमा लिइएको छ। उनीहरू यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्रको परीक्षामा खटिएका थिए।
यस्तै, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका प्रबन्धक बालकृष्ण सिंहसहित सात जनाका नौ वटा मोबाइल फोनसमेत अख्तियारले नियन्त्रणमा लिएको छ। आयोगका अनुसार लिखित परीक्षामा फेल भएका व्यक्तिलाई तीन महिना नपुग्दै पुनः लिखित परीक्षामा सहभागी गराएको आरोप उनीहरूमाथि छ।
सो प्रकरणसँग सम्बन्धित परीक्षार्थीहरूको उत्तरपुस्तिका तथा अन्य कागजातसमेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ।

