काठमाडौँ । प्रशोधित खाने तेल (भटमास र सूर्यमुखी) ले चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको निर्यात व्यापारलाई उल्लेख्य रूपमा बढाएको छ। तर यो निर्यात पूर्णतः स्वदेशी उत्पादनमा आधारित नभई बाह्य मुलुकबाट कच्चा पदार्थ आयात गरी प्रशोधन (भ्यालु एडिसन) गरेर गरिएको हो।
भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा नेपालबाट ६० अर्ब ८६ करोड ६९ लाख १४ हजार रुपैयाँ बराबरको सोयाबिन र सूर्यमुखी तेल निर्यात भएको छ। मुलुकमा पर्याप्त उत्पादन नहुने भटमास हाल नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा छ।
उक्त अवधिमा नेपालले ७२ अर्ब ६८ करोड ३७ लाख ९ हजार रुपैयाँ बराबरको सोयाबिन, सूर्यमुखी र पाम आयलको कच्चा पदार्थ आयात गरेको भन्सार विभागले जनाएको छ। निर्याततर्फ भने ५६ अर्ब ८२ करोड ४२ लाख रुपैयाँ बराबरको सोयाबिन तेल र चार अर्ब ७८ करोड ४४ लाख ८८ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल विदेश पठाइएको छ।
छ महिनामा मात्रै ५८ अर्ब २७ करोड ९२ लाख ७६ हजार रुपैयाँ बराबरको सोयाबिनको कच्चा पदार्थ, पाँच अर्ब ८२ करोड ७९ लाख ७६ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेलको कच्चा पदार्थ तथा पाँच अर्ब ४९ करोड ४१ लाख ७९ हजार रुपैयाँ बराबरको पाम आयलको कच्चा पदार्थ आयात भएको छ।
चालु आवको पहिलो छ महिनामा कुल निर्यात व्यापार ४३.७६ प्रतिशतले बढेर एक खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये करिब ४८ प्रतिशत हिस्सा खाने तेलको रहेको छ। तर यो स्वदेशी उत्पादनमा आधारित नभएकाले दिगो निर्यातको आधार बन्न नसक्ने सरोकारवालाहरूको भनाइ छ।
व्यापार प्रवर्धन तथा निकासी केन्द्रका वरिष्ठ तथ्याङ्क अधिकृत कृष्णराज बजगाईंका अनुसार निर्यातमा खाने तेलको हिस्सा ठूलो भए पनि कच्चा पदार्थ आयातमा निर्भर भएकाले यसले दीर्घकालीन रूपमा निर्यात व्यापारलाई स्थायित्व दिन सक्दैन। भारतले नीतिगत परिवर्तन गरेमा नेपालको निर्यात एकाएक घट्न सक्ने जोखिम रहेको उहाँको भनाइ छ। त्यसैले स्वदेशमै कच्चा पदार्थ उत्पादन हुने र भ्यालु एडिसन उच्च हुने वस्तुको निर्यातमा जोड दिनुपर्ने उहाँले बताउनुभयो।
नेपाल निर्यात परिषद्का पूर्वअध्यक्ष नरेशलाल श्रेष्ठका अनुसार खाने तेलमा करिब ३० प्रतिशतसम्म भ्यालु एडिसन गरेर निर्यात गरिँदै आएको छ। तर अधिकांश वस्तुको कच्चा पदार्थ आयात गर्नुपर्ने भएकाले लागत मूल्य बढ्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन भइरहेको उहाँको भनाइ छ।
नेपालले अर्जेन्टिना र ब्राजिलजस्ता दक्षिण अमेरिकी मुलुकबाट कच्चा भटमासको तेल आयात गरी प्रशोधनपछि भारत निर्यात गर्ने गरेको छ। यसमध्ये केही परिमाण आन्तरिक बजारमै खपत हुने गरेको छ। भारतमा कच्चा भटमास तेलमा उच्च भन्सार महसुल लाग्ने भएकाले भारतीय व्यापारीहरूले नेपाललाई प्रशोधन केन्द्रका रूपमा प्रयोग गर्दै आएका छन्।
दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत पाँच प्रतिशत भन्सार सुविधाका कारण नेपालबाट भारतमा खाने तेल निर्यात भइरहेको छ।
खाने तेलबाहेक नेपालबाट निर्यात हुने अन्य स्वदेशी उत्पादनमा अलैँची, गलैँचा तथा कार्पेट, जुटका सामग्री, चिया, छुर्पी, सिमेन्ट र प्लाइउड रहेका छन्।
६ महिनामा सात अर्ब ७८ करोड ४४ लाख ८८ हजार रुपैयाँ बराबरको तीन लाख ४६१ केजी अलैँची निर्यात भएको छ।

