काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउन डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्दै ‘आइटी फौज’ निर्माण गर्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको डिजिटल सदस्यता नवीकरण तथा वितरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै प्रचण्डले बदलिँदो समय र आवश्यकताअनुसार पार्टी संगठनलाई प्रविधिमैत्री बनाउनुपर्ने बताएका हुन्।
उनले पार्टी अहिले नयाँ सिराबाट अघि बढ्न खोजिरहेको उल्लेख गर्दै सदन, सडक र सरकारका सबै मोर्चाबाट संघर्ष गर्ने तयारीमा रहेको बताए। डिजिटल क्षेत्रमा प्रभावकारी उपस्थिति निर्माण गर्न विशाल आइटी संरचना आवश्यक रहेको उनको भनाइ थियो।
“पार्टीलाई सुदृढ, विस्तार गर्ने र नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउन विशाल आइटी आर्मी चाहियो,” प्रचण्डले भने।
उनले डिजिटल क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको भन्दै प्रविधिको महत्वलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए।
यसैबीच नेपाली कम्युनिस्ट पार्टीले पार्टी सञ्चालन, सदस्यता नवीकरण तथा वितरण अभियान प्रारम्भ गरेको छ। अभियानमार्फत संगठनलाई थप व्यवस्थित, प्रविधिमैत्री र जनतासँग प्रत्यक्ष जोड्ने लक्ष्य राखिएको छ।
डिजिटल माध्यमबाट सदस्यता नवीकरण तथा वितरण प्रक्रियालाई प्रभावकारी बनाउँदै पार्टी संगठन विस्तार र सुदृढीकरणमा जोड दिइने जनाइएको छ।
अभियान शुभारम्भ कार्यक्रममा पार्टीका सह–संयोजक माधव कुमार नेपाल ले पार्टीलाई समयअनुकूल रुपान्तरण गर्दै जनताको विश्वास र सहभागितासहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

