काठमाडौँ । चर्चित हास्य कलाकार खेम शर्माको अमेरिकामा उपचारका क्रममा निधन भएको छ। बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायर (मेडस्टार) अस्पतालमा षर्माको निधन भएको हो ।
बुधबार स्वास्थ्यमा असहज भएपछि मेडस्टार अस्पतालमा उपचाररत रहेका शर्माको अमेरिकी समयअनुसार साँझ ८ बजे निधन भएको जनाइएको छ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका शर्मालाई स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार सुरुमा टाउसन अस्पतालमा भर्ना गरिएको थियो। अवस्था गम्भीर बनेपछि थप उपचारका लागि उनलाई बाल्टिमोरको अस्पतालमा रिफर गरिएको थियो।
उपचारका क्रममा निधन भएको जानकारी कलाकार तथा मोडल मनिष शर्माले दिएका छन्। उनले अस्पतालमै पुगेर निधनको पुष्टि गरेका हुन्। त्यस्तै, कलाकार शिवहरि पौड्यालले पनि सामाजिक सञ्जालमार्फत शर्माको निधन भएको पुष्टि गर्दै शोक व्यक्त गरेका छन्।
शर्माले ‘चतुरेको दाउपेच’ लगायतका चर्चित टेलिफिल्म तथा फिल्महरूमा अभिनय गर्दै दर्शकमाझ छुट्टै पहिचान बनाएका थिए। लामो समयदेखि उनी परिवारसहित अमेरिकामा बस्दै आएका थिए।
उनको निधनसँगै नेपाली हास्यव्यंग्य कलाकारिता क्षेत्रले एक परिचित र लोकप्रिय कलाकार गुमाएको छ।

