काठमाडौँ । मनसुन भित्रिएसँगै बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लामा बाढीको जोखिम बढ्न सक्ने भन्दै चेतावनी जारी गरेको छ।
महाशाखाका अनुसार आज सुनसरी जिल्ला, मोरङ जिल्ला, संखुवासभा जिल्ला र आसपासका क्षेत्रमा बहने साना नदी तथा खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
महाशाखाले आइतबार बिहान जारी गरेको सूचनामा भनिएको छ, “उल्लिखित जिल्लाका साना नदीहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध छ।”
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका केही स्थानमा मात्र मनसुनी वायुको प्रभाव रहेको छ भने देशका बाँकी भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायम छ। यस कारण देशभर वर्षा असमान रूपमा भइरहेको छ।
यस वर्ष मनसुन सरदर मिति जुन १३ भन्दा करिब ६ दिन ढिला गरी जुन १९ (असार ५) मा नेपाल प्रवेश गरेको हो। कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन विस्तारै पश्चिमतर्फ फैलिँदै देशभर फैलिने क्रम जारी रहेको मौसमविद्हरूले बताएका छन्।

