कागेश्वरी मनोहरा नगरपालिका-६, मूलपानीस्थित मनोहरा सार्वजनिक पुस्तकालयमा पुस्तकालय विस्तार, पुनर्व्यवस्थापन तथा आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित सातदिने तालिम सम्पन्न भएको छ।
नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिक व्यवस्थापनमा यही मिति २०८३ साल जेठ १९ देखि २५ गतेसम्म सञ्चालित तालिममा १८ जना सहभागीले पुस्तकहरूको वर्गीकरण, सूचीकरण तथा आधुनिक पुस्तकालय व्यवस्थापन प्रणालीसम्बन्धी व्यावहारिक सीप हासिल गर्दै पुस्तकालयलाई व्यवस्थित गरेका छन्।
पुस्तकालयका अध्यक्ष आनन्द राम फुयालको अध्यक्षता तथा नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको तालिम समापन समारोहमा वरिष्ठ सल्लाहकार तथा पूर्व प्रदेश सभासद् मणिराम फुयाल, विद्यालयका प्रधानाध्यापक, सरोकारवाला र प्रशिक्षार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
तालिमले पुस्तकालयको सेवा गुणस्तर अभिवृद्धिसँगै स्थानीय समुदायमा पठन संस्कृति प्रवर्द्धन र ज्ञानमा पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ।

