काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावस्वरूप अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा पनि सामान्य बदली छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभाग र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर (हीटवेभ) को अवस्था कायम रहने सम्भावना छ। साथै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि अत्यधिक गर्मी महसुस हुने अर्थात् ‘तातो दिन’ रहने अनुमान गरिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ। मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान छ।
रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

