माता औंसी : आमाको काख जति तातो संसारमा अरु केही छैन
जीवनका अनेक दौडधुपबीच पनि केही सम्बन्धहरू हुन्छन्, जसले हामीलाई फेरि फेरि आफूलाई सम्झन बाध्य बनाउँछन्। ती सम्बन्धमध्ये सबैभन्दा पवित्र र निस्वार्थ सम्बन्ध हो — आमा र सन्तानको सम्बन्ध। यही सम्बन्धको आदर र सम्झनाका लागि हामी प्रत्येक वर्ष माता औंसी मनाउँछौं।
आमाको माया कुनै सर्तमा बन्धिएको हुँदैन। जब हामी बोल्न सक्दैनथ्यौं, आमा हाम्रा भावना बुझ्थिन्। जब हामी हिँड्न सक्दैनथ्यौं, उहाँले हामीलाई थामेर अघि बढाउनु भयो। आज हामी जतिसुकै ठूला भयौं, सफल भयौं, त्यो सबै आमाकै आशीर्वाद र त्यागको फल हो। माता औंसी भनेको यिनै अनगिन्ती बलिदानहरूप्रति श्रद्धा प्रकट गर्ने दिन हो।
तर आजको चकचके दुनियाँमा हामी आमाको मायालाई कहिलेकाहीँ बिर्सिन थालेका छौं। सामाजिक सञ्जालका चमक र अफिसका व्यस्तताबीच आमा कोठाको कुनामा चुपचाप बस्न बाध्य भएकी हुन्छिन्। आज, माता औंसीका दिन, हामीले ती मौनतामा लुकेको आमा को आवाज सुन्नुपर्ने समय हो।
माता औंसीमा महँगा उपहार वा भोजभतेर मात्रै होइन, आमा सँग एकछिन बसेर, उहाँको हात समाएर, माया र कृतज्ञताको शब्द सुनाउनु नै सबैभन्दा ठूलो सम्मान हो। उहाँका सपना, पीडा र चाहनालाई सुन्ने हो भने माता औंसीको साँचो अर्थ पुरा हुन्छ।
यसै सन्दर्भमा, राज्य र समाजले पनि आमाहरूको स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा थप चासो दिनु आवश्यक छ। आमाहरूलाई सम्मान गर्ने संस्कृति केवल चाडपर्वमा सीमित नभई, हाम्रो दैनिक व्यवहारमा प्रकट हुन जरुरी छ।
अन्ततः, माता औंसी एउटा सम्झना हो — हामी जहाँ पुगे पनि, आमा सधैँ हाम्रो मूल जरा हुन्। उहाँको मायामा कुनै क्षय हुँदैन।
आउनुस्, आजको दिन सबै आमाहरूको मुस्कानमा फुल्ने फूल बनौं, उहाँहरूको आशीर्वादमा रमाऔं र जीवनभरी उहाँहरूको सेवा र सम्मान गर्ने प्रण गरौं।

