काठमाण्डौ । फिलिपिन्सको दक्षिणी टापु मिन्दानाओ नजिक सोमबार बिहान शक्तिशाली भूकम्प गएपछि एसियाका विभिन्न देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।
प्रारम्भिक विवरणअनुसार भूकम्पको तीव्रता ७.८ देखि ८.२ म्याग्निच्युडसम्म रहेको विभिन्न भूकम्प मापन संस्थाहरूले जनाएका छन्।
भूकम्प स्थानीय समयअनुसार बिहान करिब ७.४० बजे गएको थियो। यसको केन्द्रबिन्दु मिन्दानाओको तटवर्ती क्षेत्र नजिक समुद्रमा रहेको र गहिराइ १० देखि ३५ किलोमिटरबीच रहेको बताइएको छ।
फिलिपिन्स, इन्डोनेसिया, जापानलगायतका देशमा सुनामीको चेतावनी जारी भएको छ । स्थानीय अधिकारीहरूले समुद्रमा रहेका मानिसहरूलाई तुरुन्त किनाराबाट टाढा जान, समुद्री तट, बन्दरगाह तथा तल्लो तटीय क्षेत्र खाली गर्न, उच्च स्थानतर्फ जान निर्देशन दिएका छन् ।
हालसम्म यो भूकम्पबाट ठूलो जनधनको क्षतिको आधिकारिक पुष्टि नभएको तथा स्थानीय अधिकारीहरूले क्षतिको मूल्याङ्कन गरिरहेका समाचार संस्था एपीले जनाएको छ ।

