काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कुल चार गोल भएको हो ।
खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्त्वना गोल इब्राहिम एम्बायेले गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए ।
यद्यपि त्यसको अर्को मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ मा पु¥याए । समूह ‘आई’ अन्तर्गत आजै नर्वे र इराक (नेपाली समय अनुसार ३ः४५ बजे) भिड्दैछन् । साथै समूह ‘जे’अन्तर्गत अर्जेन्टिना र अल्जेरिया (नेपाली समय अनुसार ६ः४५) तथा अष्ट्रिया र जोर्डन (नेपाली समय अनुसार ९ः४५) भिड्दैछन् ।

