काठमाडौँ । पछिल्लो तीन दिन देशका विभिन्न स्थानमा भएको वर्षा र मौसम बदलीका कारण तापक्रम केही घटे पनि अब फेरि गर्मी बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अबका दिनमा तापक्रम क्रमशः उकालो लाग्ने र तराई क्षेत्रमा तातो लहर (हिट वेभ) बढ्ने सम्भावना रहेको छ ।
विभागका अनुसार हालको तीन दिनको अभिलेखमा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि नपुगे पनि अब वर्षा घट्दै जाँदा गर्मी पुनः तीव्र हुने देखिएको छ । आज भैरहवामा अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस पुगेको छ ।
राति १० बजेसम्मको पछिल्लो अवस्थाअनुसार देशका कुनै पनि स्थानमा वर्षा भएको छैन भने पछिल्लो २४ घण्टामा पनि दैलेख लगायत केही स्थानमा मात्र हल्का वर्षा भएको छ । अन्य क्षेत्रमा वर्षा लगभग रोकिएको विभागले जनाएको छ ।
सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज जेठ १९ गते मधेस प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा ‘तातो दिन’ (हट डे) हुने सम्भावना छ ।
यसैबीच देशको हिमाली र पहाडी भू–भागमा सामान्यतया बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।
विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ ।

