काठमाडौँ। सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक (एसपी)देखि प्रहरी जवानसम्म १० जना प्रहरी कर्मचारीमाथि कारबाही गर्न सिफारिस गरिएको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा निवासी २३ वर्षीय श्रीकृष्ण विकको हिरासतमा मृत्यु भएको घटनाको छानबिनका लागि गठित प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्य नेतृत्वको समितिले कारबाही सिफारिस गरेको हो।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार समितिले एक जनालाई सचेत गराउन, दुई जनालाई ध्यानाकर्षण गराउन, पाँच जनालाई चेतावनीसहित जिम्मेवारीबाट अलग गर्न, एक जनालाई नसिहत दिन तथा एक जनाको ग्रेड घटुवा गर्न सिफारिस गरेको छ।
छानबिन समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न, हिरासत व्यवस्थापन कार्य निर्देशन–२०८१ को पूर्ण कार्यान्वयन सुनिश्चित गर्न तथा ड्युटीका समयमा अन्य काममा संलग्न नहुन निर्देशनात्मक सुझाव दिएको छ।
यस्तै, हिरासतमा रहेका व्यक्तिहरूमाथि नियमित निगरानी र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन पनि समितिले जोड दिएको छ।

