काठमाडौं – जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अदालतले मेयर सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ।
अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा कायम गरी झुटो विवरण पेश गरेर जन्मदर्ता, नागरिकता, राहदानीलगायतका सरकारी कागजात बनाएको अभियोगमा अदालतले जिल्ला प्रहरी कार्यालय पर्साका नाममा पक्राउ पुर्जी जारी गरेको हो।
उक्त घटनासम्बन्धी चार वटा मुद्दा यसअघि गत जेठ १ गते जिल्ला अदालत पर्सामा दर्ता भएका थिए। सोही मुद्दामाथिको प्रारम्भिक प्रक्रियाअन्तर्गत अदालतले पक्राउ पुर्जी जारी गरेको बताइएको छ।
प्रहरीले अदालतको आदेश कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ।

