-धनकुमार श्रेष्ठ
महासचिव नेपाल लाइब्रेरी फाउन्डेसन
नमुना पुस्तकालय भन्नाले मेरो बुझाइमा अरूभन्दा फरक, विशेष प्रकृतिको, सेवाको दृष्टिले उत्कृष्ट र समुदायको विश्वास जित्न सफल पुस्तकालय हो। पुस्तकालयबाट सेवा लिने व्यक्तिहरूको सोच, व्यवहार र जीवनशैलीमा सकारात्मक परिवर्तन आउनु, समाजमा राम्रो प्रभाव पर्नु र समुदायले आफ्नै संस्थाको रूपमा अपनत्व महसुस गर्नु नै नमुना पुस्तकालयको वास्तविक परिचय हो।
ठूलो, भव्य, आकर्षक भवन र स्रोत साधन सम्पन्न हुँदैमा त्यो पुस्तकालय नमुना हुन सक्तैन। महँगा फर्निचर, रंगीन सजावट वा फोटो खिच्न मिल्ने कोठा मात्र भएर पुस्तकालयको मूल्य बढ्न सक्तैन। प्रयोगविहीन र संग्रहालय जस्तो पुस्तकालयलाई नमुना भन्न मिल्दैन। पाठक नआउने, तालिम प्राप्त कर्मचारी नभएको, व्यवस्थापन कमजोर भएको र दिगोपनाको आधार नभएको, पाठक कुरेर बस्ने पुस्तकालयलाई नमुना भन्न पटक्कै सुहाउँदैन।
नमूना सार्वजनिक तथा शैक्षिक पुस्तकालय हुनका लागि व्यवस्थित एवं सुविधासम्पन्न संरचना, स्पष्ट उद्देश्य र प्रभावकारी सेवा आवश्यक हुन्छ। पुस्तक, पत्रपत्रिका, सन्दर्भ सामग्री, डिजिटल स्रोत तथा स्थानीय ज्ञान सामग्रीको उचित व्यवस्थापन हुनुपर्छ। पुस्तकालयमा आउने हरेक व्यक्तिले सहज रूपमा ज्ञान, सूचना र सिकाइको अवसर प्राप्त गर्न सक्नुपर्छ। बालबालिका, विद्यार्थी, शिक्षक, युवा, प्रौढ, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरू सबैका लागि पुस्तकालय उपयोगी र पहुँचयोग्य हुनुपर्छ।
सार्वजनिक पुस्तकालयले समुदायका सबै वर्गलाई ज्ञान, सूचना र चेतनासँग जोड्ने काम गर्नुपर्छ। स्थानीय आवश्यकता अनुसार विभिन्न पुस्तकालयीय गतिविधिहरू सञ्चालन गर्नुपर्छ। पढ्ने बानी, सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र सहिष्णु संस्कार विकास गर्न सहयोगी भूमिका खेल्नुपर्छ। समुदायको प्रत्यक्ष सहभागिता, स्थानीय सहयोग, स्वामित्व भावना र दिगोपनाको आधार बलियो भएको सार्वजनिक पुस्तकालयलाई नमुना सार्वजनिक पुस्तकालय भन्न सकिन्छ।
त्यसैगरी शैक्षिक पुस्तकालयले विद्यालय वा क्याम्पसको पठनपाठनलाई प्रत्यक्ष सहयोग गर्नुपर्छ। विद्यार्थी र शिक्षक वर्गमा खोज, अध्ययन, अनुसन्धान र सिर्जनशीलताको बानी विकास गर्नुपर्छ। पाठ्यपुस्तकमा मात्र सीमित नभई अतिरिक्त ज्ञान, सूचना र जीवन उपयोगी सीप सिक्ने वातावरण तयार गर्नुपर्छ। शिक्षक र विद्यार्थी दुवैको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने र शैक्षिक गुणस्तर सुधारमा योगदान दिने पुस्तकालय नै नमुना शैक्षिक पुस्तकालयको आधार हो।
समुदायका सरोकारवालाहरू चिया गफमा समय बिताउने बानीबाट बाहिर निस्कून्, भट्टी र अनावश्यक जमघटभन्दा पुस्तक र ज्ञानतर्फ आकर्षित होउन्। निरर्थक गफगाफभन्दा अध्ययन, छलफल र सिकाइमा रमाउन सकून्। यस्तो वातावरण निर्माण गर्ने जिम्मेवारी पुस्तकालय जस्तो सेवाप्रदायक संस्थाले बोकेको हुन्छ। पुस्तकालयले समुदायमा यस्तो माहोल बनाउनुपर्छ जहाँ मानिसहरू स्वतः ज्ञानतर्फ आकर्षित हुन सकून्। जबरजस्ती सदस्य बनाइएका व्यक्तिभन्दा आफ्नै इच्छाले पुस्तकालयको सदस्य बन्न आउने व्यक्ति बढी सक्रिय र जिम्मेवार हुन्छन्। “पढ्” भनेर आदेश दिनुभन्दा मानिस स्वयं पुस्तकालय प्रवेश गरेर पढ्ने बानी विकास हुनु धेरै महत्वपूर्ण पक्ष हो। पुस्तकालयले यस्तो वातावरण निर्माण गर्नुपर्छ जहाँ मानिसहरू फेरि-फेरि आउन सकून्, केही सिक्न र पुस्तकसँग आत्मीय सम्बन्ध गाँस्न सकून्।
जब मानिस पुस्तक र ज्ञानसँग नजिकिन थाल्छ, तब उसको सोच, व्यवहार र जीवन हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ। लवाइखुवाइ, रहनसहन, हिँडाइ, हेराइ, गराइ, व्यवहार, सोच र दृष्टिकोणमा सकारात्मक परिवर्तन देखिन थाल्छ। यही परिवर्तन नै वास्तविक नमुनाको संकेत हो। जब समाजमा मेलमिलाप, एकता, सद्भाव र भाइचाराको भावना विकास हुन्छ, तब समाज बलियो बन्छ। सहिष्णुता बढ्छ। आपसी सम्मान र सहकार्यको संस्कार विकास हुन्छ। यही अवस्था नै सभ्य, सुसंस्कृत र सशक्त समाजको परिचय हो।
यी सबै परिवर्तनको आधार तयार गर्ने काम पुस्तकालयले गर्नुपर्छ। पुस्तकालय चेतना फैलाउने र उत्प्रेरणा जगाउने केन्द्र हो। यसले मानिसलाई सोच्न, सिक्न, बुझ्न र सही बाटो रोज्न प्रेरित गर्छ। हरेक नागरिकलाई सुशिक्षित, सचेत, जिम्मेवार र सकारात्मक सोच भएको व्यक्ति बनाउन पुस्तकालयले निरन्तर भूमिका खेल्नुपर्छ। जब पुस्तकालयले व्यक्तिको सोच, व्यवहार र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउँछ, तब मात्र त्यो पुस्तकालय वास्तविक अर्थमा “नमुना सार्वजनिक तथा शैक्षिक पुस्तकालय” को जगमा उभिन सक्छ।
नेपालमा यस प्रकारका नमुना पुस्तकालयको उपाधि दिन लायक सार्वजनिक, सामुदायिक वा शैक्षिक पुस्तकालयहरू छन् जस्तो मलाई लाग्दैन। अहिले धेरै पुस्तकालयकर्मी संस्था र अभियानकर्मीहरू पुस्तकालयलाई नियमित रूपमा सञ्चालन गर्न, खोल्न र टिकाइ राख्नमै संघर्षरत अवस्थामा छन्। स्रोत साधनको अभाव, दक्ष जनशक्तिको कमी, दिगो व्यवस्थापन प्रणालीको कमजोर अवस्था र समुदायको अपेक्षित सहभागिता नहुनु जस्ता कारणले पुस्तकालयहरू पूर्ण रूपमा सक्रिय र प्रभावकारी बन्न सकेका छैनन्। यस्तो अवस्थामा “नमुना पुस्तकालय” भन्ने उपाधि भन्दा पनि पहिले पुस्तकालयलाई व्यवहारिक रूपमा सक्रिय, उपयोगी र समुदायमुखी बनाउनेतर्फ ध्यान दिनु आवश्यक देखिन्छ। जब पुस्तकालय नियमित सञ्चालन, प्रभावकारी सेवा र समुदायको प्रत्यक्ष सहभागितासहित बलियो बन्दै जान्छ, तब मात्र नमुना पुस्तकालयको अवधारणा व्यवहारमा देखिन थाल्छ।

