काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार) भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै छन्। भारतका विदेशमन्त्री एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनाल तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन्।
परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्री खनालको भ्रमण शुक्रबारदेखि आइतबारसम्म रहनेछ। भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल हुने जनाइएको छ। विशेषगरी व्यापार, लगानी, ऊर्जा, यातायात तथा सम्पर्क सञ्जाल विस्तार, साथै जनस्तरका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्षबीच विचार–विमर्श हुने मन्त्रालयले जनाएको छ।
नेपाल र भारतबीचको पारस्परिक हित तथा सहयोगका क्षेत्रलाई थप विस्तार गर्ने उद्देश्यले हुने यो भ्रमणलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ।
परराष्ट्रमन्त्री खनाल भारत भ्रमण सम्पन्न गरी जेठ २४ गते आइतबार स्वदेश फर्किने कार्यक्रम छ।

