काठमाडौं । आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
जननिर्वाचित पहिलो संविधानसभाले २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको औपचारिक अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गराएको दिनको सम्झनामा हरेक वर्ष गणतन्त्र दिवस मनाउने गरिन्छ ।
दिवसका अवसरमा सैनिक मञ्च टुँडीखेलमा आज बिहान विशेष समारोह आयोजना हुँदैछ । समारोहअघि नेपाली सेनाले गणतन्त्र दिवसको स्वागतमा तोप पड्काएको छ ।
बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ । समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अघिल्ला वर्षहरूमा राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यस वर्ष प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने भएका छन् ।
गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उहाँबाटै सम्बोधन गराउन अनुरोध गर्दै प्रधानमन्त्रीले शीतल निवासमा पत्र पठाएका थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री सैनिक मञ्च टुँडीखेलमा हुने कार्यक्रममा सहभागी हुनेछन्, तर समारोहलाई सम्बोधन भने गर्ने छैनन् ।

