लामो दूरीका यात्रुवाहक सवारी साधनहरुमा चर्को आवाजमा बजाइने झर्को लाग्दा गीतहरु सबैलाई मन पर्दैन, कसैकसैलाई मन पर्छ होला। अपांग तथा वृद्ध यात्रुहरुलाई त्यस्ता गीतहरुबाट वाक्कदिक्क लाग्छ नै। त्यही भएर गीतकार अमर कीर्तिमानीले बसका चालक, सहचालक र यात्रुहरुलाई उपयुक्त हुनेखालको चेतनामूलक गीत रचे- ‘लालीगुराँस फुले झैँ वनवनमा, शुभयात्रा कल्पिनुस् मनमनमा।‘ सो गीत रेकर्ड भएको भए सायद सालाखाला आधाघन्टा समयको हुन्थ्यो होला। गीत रचेको केही दिनमा बग्गीखानास्थित ट्राफिक कार्यालयमा गएर गीतकार अमरले गीत रेकर्डिङ गराउन अनुरोध गर्दा बजेट नभएको जानकारी गराइएछ। त्यसपछि सो गीत लगेर यातायात व्यवस्था विभागमा गएछन् उनी। एकजना निर्देशकले “वाह! यो गीत साह्रै उत्कृष्ट र सुन्दर छ” भन्नुभएछ पनि। विभागका महानिर्देशकले गीत सहितको निवेदनमा तोक लगाइदिएपछि सम्बन्धित शाखाका अधिकृतको टेबुलमा पुग्यो त्यो गीत। ती अधिकृतले पनि गीतका एकएक पंक्ति पढे अनि गी गजब राम्रो भएको जनाएपछि गन्तव्यतर्फ लागेँ गीतकार अमर। अमरले ती अधिकृतलाई बेलाबेलामा फोन गर्दा यसका लागि योजना बनाउनुपर्छ, बजेट छुट्याउनुपर्छ भनेपछि अमरले पछि पनि बेलाबेलामा फोन गरि नै रहे। गीत लेखिएको तीन पृष्ठको कागज ती अधिकृतको टेबुलको घर्रा अर्थात् ड्रयरमा महिनौँसम्म सीमित रहन गयो। जेन-जी बिद्रोहका कारण जलेका कैयन सरकारी भवनहरुमध्ये यातायात व्यवस्था विभाग पनि अछुतो रहेन र आखिरमा उनको त्यो गीत टेबुलको घर्राभित्र खरानी भयो। ‘नेपालको कानून दैवले जानुन्’ भन्ने उखान यहाँ चरितार्थ भयो। समयमै सो गीततर्फ सम्बन्धित निकायको ध्यान नजाँदा र सो गीतको पन्नामा ‘अग्राख’ पलाउँदा गीतकार निराश भए। त्यतिबेला अमरलाई लागेछ- यहाँ राम्रो कामका लागि यहाँ स्थान छैन । ‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ शीर्षकको उनको चेतनामूलक लेख लोकप्रिय छ, जुन लेख इलामदेखि डडेलधुरासम्मका सञ्चार माध्यमहरुले साभार गरेर प्रकाशन गरिसकेका छन् भने सो लेख एक विद्यालयको सूचना पाटीमा समेत टाँसिएको छ। अमरका लेख-रचनाहरुमा देशभक्ति र प्रकृतिप्रेम ज्यादा देखिन्छ।

