काठमाडौँ । देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षा, चट्याङ, हावाहुरी तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदरभन्दा दक्षिणतर्फ तथा पश्चिमी भू–भागमा सरदर स्थानकै आसपास रहेको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली रहेको विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बदली रहने अनुमान गरिएको छ भने कोशी, मधेस र बागमतीका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा कोशीको तराई र मधेसका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेस तथा कोशी र बागमतीका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने विभागले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
त्यसैगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका केही स्थान, मधेस प्रदेश, कर्णालीका पहाडी क्षेत्र तथा बागमतीका पहाडी र तराई क्षेत्रका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
विभागले कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

