जयराम बिडारी
जेठ २३, काठमाडौँ ।
भाषा, कला र साहित्यको उन्नयनमा निरन्तर क्रियाशील रहँदै आएको लोमश वाङ्मय प्रतिष्ठान रसुवाको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पक्षहरूको गहन अनुसन्धानका लागि त्यसतर्फ प्रस्थान गरेको छ । हरेक महिनाको चौंथो शनिबार विशेष साहित्यिक गतिविधि गर्दै आएको प्रतिष्ठान कालिका गाउँपालिकाको औपचारिक निमन्त्रणामा जेठ २३, २४ र २५ गते सञ्चालन हुने तिन दिनेा साहित्यिक अनुष्ठानका लागि रसुवा प्रस्थान गरेको हो । स्थानीय स्तरका स्रष्टाहरूलाई राष्ट्रिय मूलधारमा समेट्ने र ओझेलमा परेका पहिचानलाई उजागर गर्ने मुख्य उद्देश्यका साथ यो यात्रा तय गरिएको हो ।
यस पदयात्रामा साहित्य, कला र पत्रकारिता क्षेत्रका सुप्रसिद्ध १५ जना लेखक तथा बहुआयामिक विषयमा विषयविज्ञहरूको सहभागिता रहेको छ । टोलीले स्थानीय परिवेशको प्रत्यक्ष अध्ययन गरी कालिका गाउँपालिकाका विभिन्न आयामहरूमाथि अनुसन्धानात्मक लेखहरू तयार पार्नेछ । लेखन कार्यलाई विषयगत रूपमा वर्गीकरण गरि लेखिएको सामग्रीहरुलाई पुस्तकको रुपमा प्रकाशित गरिने जानकारी समेत दिइएको छ ।
लोमश वाङ्मय प्रतिष्ठान साहित्यिक विचरणका लागि रसुवा प्रस्थान
विषयविज्ञताको आधारमा स्रष्टाहरूले निम्नलिखित विषयवस्तु उपर अनुसन्धान गरी लेख अनुसन्धान प्रस्तुत गर्नेछन् ।
१. कालिकाका तामाङको सभ्यता, संस्कृति र इतिहास: एक सिंहावलोकन- प्रतीक घिमिरे
२. सिंचाइ पम्पले कृषि विकासमा दिन सक्ने सम्भावित लाभ- ममिला पौडेल ‘आस्था’
३. शैक्षिक उन्नयनमा कालिकाको फड्को- यमबहादुर जोती
४. बौद्ध पर्यटन प्रवर्धनका पालिकाले निर्वाह गर्नुपर्ने भूमिका- दीपक भेटुवाल’दीपसागर’
५. कला, संस्कृति र साहित्यमा कालिकाको भूमिका- राजेन्द्रमान डङ्गोल
६. कालिकाको सामाजिक र आर्थिक अवस्था: महिला सशक्तीकरणको आँखीझ्यालबाट- गङ्गा खतिवडा
७. कालिकाका स्थानीयको जीवनशैली र जिउने आधार- गोपालकृष्ण अधिकारी
८. स्याउबारीको सेरोफेरो: प्रकृतिको अनुपम उपहार- डा.नवराज रिजाल
९. कालिकामा पर्यटन: इतिहास, वर्तमान र भविष्यका सम्भाव्यता- जयराम बिडारी
१०. चौतर्फी विकासमा लम्किएका कालिका गाउँपालिकाका पाइला- नवीन पल्लव
११. स्वरोजगारी र आत्मनिर्भरतामा अनुकरणीय कालिका- अमर कीर्तिमानी
१२. यातायात, सञ्चार तथा आधुनिक प्रविधिमा कालिकाको उपलब्धि- अनुप खनाल
१३. आजको निकास: पालिकाको सर्वतोमुखी तथा समान विकास- माधव घिमिरे ‘अटल’
१४. कालिकाका ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाहरू- केशरी अम्गाई
१५. कालिकाको छविचित्र – डीबी पराजुली
अनुसन्धानलाई तथ्यपरक, विश्वसनीय र जीवन्त बनाउन टोलीले रसुवाका स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा रैथाने विज्ञहरूसँग प्रत्यक्ष समन्वय र सहकार्य गर्नेछ ।
यसैगरी कार्यक्रम आयोजकका अनुसार स्थानीय जनप्रतिनिधि तथा सामाजिक जीवनमा सक्रिय व्यक्तित्वहरूको अनुभव र स्रष्टाहरूको प्राज्ञिक अनुसन्धानबाट प्राप्त निचोडलाई समेटेर एउटा विशेष पुस्तक तयार पारिनेछ । उक्त पुस्तकलाई स्थानीय सरकार (कालिका गाउँपालिका) को सहयोगमा प्रकाशन गरिने योजना रहेको छ ।”
यो तीन दिने साहित्यिक अनुष्ठान केवल एउटा यात्रा मात्र नभएर ओझेलमा परेका स्थानीय पहिचान, इतिहास, प्रकृति र संस्कृतिलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने एउटा कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ । स्थानीय र राष्ट्रिय स्रष्टाहरूको यो अनुपम सङ्गमले कालिका गाउँपालिकाको चौतर्फी विकास र प्रवर्धनमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ ।

