काठमाडौं । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सोमबार सरुवा भएको छ। सरुवासँगै काठमाडौं र ललितपुरका प्रहरी प्रमुखसमेत परिवर्तन भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी दिलीप घिमिरेलाई दिइएको छ। यसअघि उनी प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागमा कार्यरत थिए। काठमाडौं परिसरका प्रमुख रहेका रमेश थापालाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा गरिएको छ।
त्यसैगरी जिल्ला प्रहरी परिसर ललितपुरको नेतृत्व तुलबहादुर कार्कीले सम्हाल्ने भएका छन्। ललितपुरका प्रमुख होविन्द्र बोगटीलाई प्रहरी प्रधान कार्यालयअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा पठाइएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोको प्रमुखमा सुवासचन्द्र बोहरालाई खटाइएको छ। गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा सञ्जयसिंह थापा, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा शिवकुमार श्रेष्ठ तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शान्तिराज कोइरालाको सरुवा गरिएको छ।
यस्तै, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा वीरबहादुर बुढामगरलाई पठाइएको छ भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा नकुल पोखरेलको सरुवा भएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत कृष्णप्रसाद कोइरालालाई गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरामा सरुवा गरिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत नवराज अधिकारीलाई साइबर ब्यूरोमा काज सरुवा गरिएको छ।
प्रभु ढकाललाई मधेश प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। उनी यसअघि बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत थिए। त्यसैगरी एसएसपी दयानिधि ज्ञवालीलाई लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा पठाइएको छ।
नेपाल प्रहरीको संगठनात्मक व्यवस्थापन र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले एसएसपीहरूको सरुवा गरिएको जनाइएको छ।

