जगत वाशिष्ठ
काठमाण्डौ । प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेश समिति तथा सुर्खेत शाखाले राष्ट्रिय सहिद दिवस २०८२ विविध कार्यक्रमका साथ वीरेन्द्रनगर, सुर्खेतमा मनाएको छ।
कार्यक्रमका अवसरमा प्रलेस सुर्खेत शाखाको २१४औँ साहित्य यात्रा, कर्णाली प्रदेशको २५औँ साहित्य यात्रा तथा सुर्खेत शाखाद्वारा प्रकाशित साहित्यिक पत्रिका ‘रातो थुँगा’ को १९औँ अङ्क समेत विमोचन गरिएको थियो।
महान सहिदहरूप्रति एक मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको कार्यक्रममा सहिदहरूले देखाएको बाटो अझै अधुरो रहेको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि महेन्द्रप्रसाद गिरीले साहित्य समाजको सशक्त हतियार बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “साहित्यले राजनीतिलाई बाटो देखाउनुपर्छ। तर नेपालमा दलीय अहंकारका कारण साहित्यलाई कैद गरिएको छ। दण्डहीनता, भ्रष्टाचार र बेथिति बढ्दै गएका छन्, जसले जनमानसमा असन्तोष बढाएको छ। सहिदहरूको सपना अलपत्र परेका छन्।”
वक्ताहरूले दलहरू नसच्चिए पुनः विद्रोहको सम्भावना नकार्न नसकिने उल्लेख गर्दै सहिदहरूको सपना साकार पार्न प्रगतिशील लेखकहरूले सत्ताको गलत अभ्यासविरुद्ध खुलेर आवाज उठाउनुपर्ने बताउनुभयो। “यसो भए गर्दा मात्रै सहिदहरूको साँचो सम्मान हुन्छ,” उहाँको भनाइ थियो।
कार्यक्रमका विशेष अतिथि डा. दीपक गौतमले ‘रातो थुँगा’ १९औँ अङ्कको समीक्षा गर्नुभएको थियो। कार्यक्रममा सुर्खेतका विभिन्न साहित्यकारहरू हरिलाल महतारा, जागेश्वर नेपाल, टीका पोख्रेल, लक्ष्मणदेव गिरी, निरञ्जना योगी, हेमबहादुर शाही, सनत कुमार साही, मिनराज पन्त, महेन्द्र विक्रम बीसी, चक्रदेव शर्मा, सिद्ध खड्का, सर्जन सिंह ठकुरी, बलराम रेग्मी, युद्ध विक्रम शाही, कोकिल सिंह ठकुरी, लोकबहादुर शाही र दुर्गाप्रसाद रेग्मीले आ–आफ्ना रचना वाचन गरेका थिए।
कार्यक्रमको अध्यक्षता कर्णाली प्रदेश अध्यक्ष युद्ध विक्रम शाहीले गर्नुभएको थियो भने स्वागत तथा सञ्चालन सुर्खेत शाखा अध्यक्ष कोकिला कुमारी सिंहले गर्नुभएको थियो।

