काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस समयानुकूल परिवर्तन हुँदै नयाँ युवापुस्ताको भावना र अपेक्षासहित अघि बढिरहेको बताएका छन्।
अल्फाबेटा कम्प्लेक्स नयाँबानेश्वर काठमाण्डौमा शुक्रबार कांग्रेसले सुरु गरेको ‘कांग्रेस डबली’ संवाद कार्यक्रमको पहिलो संस्करणमा बोल्दै प्रवक्ता चालिसेले कांग्रेस गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यका साथ आगामी निर्वाचनमा होमिएको दाबी गरे।
“नवयुवाले चाहेको परिवर्तनसँगै कांग्रेसले पार्टीको स्वरूप, शैली र आचरणमा परिवर्तन ल्याएको छ,” उनले भने, “युवा पुस्तामा कांग्रेस आएको छ, आशाको सिर्जना भएको छ। कांग्रेसले केवल आफूलाई बदलेको मात्र होइन, देश बदल्ने अठोट र आवश्यक नीतिसहित आएको छ।”
उनले पार्टीभित्र आन्तरिक लोकतान्त्रीकरण बलियो हुनुपर्नेमा जोड दिँदै नेतृत्वको अनुहार फेरिनु मात्रै पर्याप्त नभई विचार र नीतिसहितको परिवर्तन स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए।

