काठमाडौँ । राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई सङ्घको अध्यक्ष चयन गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत र भानुभक्त ढकाल लगायत नेताहरूको उपस्थितिमा सम्पन्न बैठकमा तत्कालीन अध्यक्ष क्षितिज थेबेले गुरुङलाई औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गरेका हुन्।
सङ्घको गत जेठ १४ गते पोखरामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित थेबे आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा (एमाले) का उम्मेदवार रहेका कारण नेतृत्व परिवर्तन गरिएको हो।
अध्यक्ष चयन भएलगत्तै महाराज गुरुङले पद तथा गोपनीयताको सपथ समेत लिएका छन्।
यस अघि युवा संघ नेपालका उपाध्यक्ष रहेका गुरुङले अध्यक्षमा चयन भएपछि राजनीतिक र बैचारिक रुपमा संगठनलाई बलियो बनाउन काम गर्नुका साथै आसन्न निर्वाचनमा पार्टीलाई बिजयी बनाउन जनताको बीचमा गएर युवाहरुको मुद्दाहरुलाई अघि बढाउने बताए।

