काठमाडौं । एपेक नेपालले साहित्यकार, गायक एवम् संस्कृतिकर्मी मेघराज नेपाल ‘मञ्जुल’ लाई यस वर्षको ‘विश्व ज्योति साहित्य सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ। उक्त सम्मान नगद ५१ हजार रुपैयाँसहित रहेको छ।
चैत्र २५ गते काठमाडौँमा आयोजना गरिने विशेष समारोहमा सम्मान समर्पण गरिने संस्थाले बताएको छ ।
सम्मानको पहिलो वर्ष गतसाल कवि एवं गीतकार उषा शेरचनलाई समर्पण गरिएको थियो।
कविता तथा गीत लेखनमा सक्रिय मञ्जुलको जन्म २००३ साल फागुनमा भोजपुरमा भएको हो। उनी २०२४ सालदेखि रेडियो नेपालमा गीत लेखन र गायनमार्फत साहित्यिक यात्रा सुरु गरेका थिए। समाजका विसंगति र बेथितिका विरुद्ध उनी विद्रोह गर्दै केही साथीहरूसँग मिलेर राल्फा नामक सांस्कृतिक समूहको स्थापना गरेका थिए। यसमा मञ्जुल, रामेश, रायन, गणेश रसिक, अरिम लगायतका कलाकर्मीहरूको सक्रिय सहभागिता थियो।
राल्फा स्थापनापछि उनीहरू नेपालका विभिन्न गाउँ–ठाउँमा पुगेर परिवर्तनको बिगुल फुक्ने काममा सक्रिय थिए। गाउँ–गाउँमा गीत गाउँदै जागरण फैलाउने उनीहरूको प्रयास विशेष महत्वको रह्यो।
साहित्यमा सक्रिय मञ्जुलका प्रकाशित कृतिहरूमा कविताकृति ‘साहिँली मोरीलाई’, संस्मरणकृति ‘सम्झनाका पाइलाहरू’, उपन्यास ‘छेकुडोल्मा’, कविताकृति ‘मृत्यु कविता’, जीवनी ‘पहाडजस्तो–बाटोजस्तो म’ लगायतका पुस्तकहरू छन्।
उनले राष्ट्रिय प्रतिभा पुरस्कार, साझा पुरस्कार लगायतका सम्मान प्राप्त गरिसकेका छन् र अझै सिर्जनामा सक्रिय छन्।
एपेक नेपालद्वारा ‘विश्व ज्योति युवा पाण्डुलिपि पुरस्कार’ पनि स्थापना गरेको छ। ४० वर्ष मुनीका युवा सर्जकलाई प्रदान गरिने यो पुरस्कारको घोषणा आउँदो साता हुने जानकारी संस्थाले दिएको छ।
गत वर्ष यो पुरस्कार सुदूरपश्चिमका युवा कवि हेमन्त शिशिरको कविताकृति ‘बन्द घरको झ्याल’ लाई प्रदान गरिएको थियो। यस वर्षको पुरस्कार अहिलेसम्म प्रकाशित नभएका कुनै युवा कथाकारको लघुकथालाई प्रदान गरी समारोहमा सो कृति लोकार्पण गरिनेछ।

