काठमाडौं । पाकिस्तानले सोमबार राति अफगानिस्तानमा फेरि हवाई आक्रमण गरेको छ। स्थानीय सञ्चार माध्यमहरूका अनुसार पाकिस्तानी वायुसेनाका लडाकु विमानहरूले राजधानी काबुल सहित विभिन्न क्षेत्रलाई निशाना बनाएका हुन्।
CNN लाई उद्धृत गर्दै सार्वजनिक रिपोर्टहरूमा आक्रमणमा परी करिब ४ सय जनाको मृत्यु भएको र २५० जना घाइते भएको उल्लेख छ। दारुलअमान, अरजान कीमत, खैराखाना तथा काबुल अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा विस्फोट र गोलीबारीका आवाज सुनिएको जनाइएको छ।
तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलस्थित नशामुक्ति अस्पतालमा बम खसालेको आरोप लगाएका छन्। तालिबान सरकारले उक्त आक्रमणलाई मानवताविरुद्धको अपराध भन्दै कडा निन्दा गरेको छ र पाकिस्तानले अफगानिस्तानको हवाई सीमा उल्लंघन गरेको दाबी गरेको छ।
यता शहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले आरोप अस्वीकार गर्दै काबुलमा कुनै अस्पताललाई निशाना नबनाइएको बताएका छन्। पाकिस्तानको सूचना मन्त्रालयका अनुसार आक्रमण काबुल र नंगहारका सैन्य ठेगाना, प्राविधिक उपकरण तथा हतियार भण्डारलाई लक्षित गरी गरिएको हो।
मन्त्रालयले ती क्षेत्रहरूबाट पाकिस्तानी नागरिकमाथि आक्रमण भइरहेकाले जवाफी कारबाही गरिएको दाबी गरेको छ।

