काठमाडौँ । समावेशी प्रतिनिधित्वको उद्देश्यसहित लागू समानुपातिक निर्वाचन प्रणाली यसपटक पनि आलोचनाको केन्द्रमा परेको छ। प्रत्यक्ष चुनावबाट वञ्चित हुने जाति, वर्ग, लिङ्ग र क्षेत्रलाई नीति निर्माण तहमा पुर्याउने लक्ष्यसहित राखिएको यो प्रणाली व्यवहारमा भनेजस्तो हुन न सकेको देखिएको छ । अझै प्रभावशाली नेता, उनीहरूकै आफन्त, नातागोतालाई अवसर जस्तो देखिएकोले पार्टी, नेतृत्वकै वरिपरि घुमिरहेको देखिएको छ।
फागुन २१ मा सम्पन्न निर्वाचनपछि सार्वजनिक गरिएको समानुपातिक सांसदहरूको सूचीमा विभिन्न दलका प्रभावशाली नेताहरूका आफन्तहरू समावेश भएका छन्। यद्यपि, विगतको तुलनामा यस्तो प्रवृत्ति केही घटेको छ ।
यसपटक पनि नेपाली कांग्रेसमा नेताका आफन्तहरूको उपस्थिति उल्लेख्य देखिएको छ। पूर्वराष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवदेखि विमलेन्द्र निधिकी भाञ्जी नीनुकुमारी कर्ण र पूर्वमन्त्री बलबहादुर केसीकी पत्नी रिना उप्रेतीसम्म समानुपातिक सूचीमार्फत संसद् प्रवेश गर्दै छन्। पुराना सांसदलाई नदोहोर्याउने निर्णय गरेको कांग्रेसले गगन थापाका ससुरा अर्जुननरसिंह केसीलाई पुन: सूचीमा समेटेको छ।
नेकपा (एमाले)मा पनि पुराना र प्रभावशाली अनुहार दोहोरिएका छन्। रामबहादुर थापा पुनः सांसद बनेका छन् भने पद्मा अर्याल र गुरुप्रसाद बराल पनि समानुपातिकबाट संसद् प्रवेश गर्दै छन्। साथै, नेता वसन्तकुमार नेम्वाङ पत्नी भूमिका सुब्बा पनि समानुपातिकबाट सांसद बनेकी छन्।
अन्य दलहरूमा पनि यस्तै प्रवृत्ति देखिएको छ। नेकपाबाट देवेन्द्र पौडेलकी पत्नी बलावती शर्मा समानुपातिकबाट सांसद बन्न सफल भएकी छन्, जबकि पौडेल स्वयं प्रत्यक्ष चुनावमा पराजित भएका थिए। राप्रपाबाट बुद्धिमान तामाङकी पत्नी सरस्वती लामा समानुपातिक सूचीमा परेकी छन्।
समग्रमा समानुपातिक प्रणालीमार्फत केही नयाँ अनुहारहरू संसद् पुगे पनि दलहरू अझै यसको मूल मर्मअनुसार पूर्ण रूपमा चल्न नसकेको देखिएको छ।
समावेशी प्रतिनिधित्वको लक्ष्य राखिएको मिस्रित निर्वाचन प्रणालीको समानुपातिक सूूूूचीमा अझै परिवारवाद र पहुँचको प्रभाव कायमै रहेको प्रश्न अझै उठिरहेकै छन्। यस्तो हुनु लोकतन्त्रको समेत उपहास हो ।

