काठमाडौँ । बेलायतमा रहेर नियात्रा, कविता, गीत र उपन्यासमार्फत पहिचान बनाएका स्रष्टा केदार सङ्केतको कथासङ्ग्रह ‘अन्तिम साँझ’ लोकार्पण गरिएको छ।
मिलाप पब्लिकेशनको आयोजना, अनेसास दर्पणको प्रायोजनमा ललितपुरको कुमारीपाटीस्थित ऐला लाउन्जमा आइतबार कृति लोकार्पण गरिएको हो।
कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, महाकाव्यकार खेमनाथ दाहाल, साहित्यकार प्रगति राई, उपन्यासकार सन्तोष श्रेष्ठलगायतले कृति लोकार्पण गरे ।
प्रमुख अतिथि श्रीओम श्रेष्ठ ‘रोदन’ले हल्ला र प्रचारका भरमा स्थापित केही साहित्यकारको चर्चा दीर्घकालीन नहुने उल्लेख गर्दै काव्यिक स्वधर्म र निरन्तर सिर्जनशील चिन्तनमा लागिरहने सर्जकको गन्तव्य सुनिश्चित रहने बताए। पुरस्कार र हल्लाखल्लाको भरमा होइन, सिर्जनशील कर्मकै बलमा केदार सङ्केतले आफ्नो बेग्लै पहिचान बनाएको उनको भनाइ थियो।
कृतिमाथि टिप्पणी गर्दै साहित्यकार प्रगति राईले केदार सङ्केतका कथाहरूले समाजको यथार्थवाद र प्रयोगवादलाई सन्तुलित रूपमा प्रस्तुत गरेको बताइन्। लेखनशैली परिष्कृत र विषयवस्तु गम्भीर बनेर आएको उल्लेख गर्दै उनले आगामी लेखन यात्राका लागि शुभकामना दिइन्।
सङ्गीतकार सन्तोष श्रेष्ठले कृति जन्मिनु सन्तान जन्मिनुजत्तिकै महत्त्वपूर्ण भएको उल्लेख गर्दै पुस्तकको कलेवर, साजसज्जा र भूमिकाले कृतिको स्तरीयता प्रमाणित गर्ने बताए। सङ्केतका कथाहरू नेपाली साहित्यको समृद्धिमा योगदान पुर्याउने विश्वास पनि उनले व्यक्त गरे।
कथाकार केदार सङ्केतले भिडियो कलमार्फत मन्तव्य व्यक्त गर्दै लेखकले सिर्जनाका माध्यमबाट आफ्ना कुरा बोल्ने भएकाले धेरै बोलिरहनु नपर्ने बताए। पाठकको प्रतिक्रिया नै आफ्ना लागि सबैभन्दा ठूलो पुरस्कार हुने उनको भनाइ थियो।
उक्त अवसरमा रचना साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक प्रतीक घिमिरे, साहित्यकार उत्तम कातिजलगायतले शुभकामना मन्तव्य दिए।

