काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले जेनजी विद्रोह जनविद्रोह वा अग्रगमन नभई प्रतिक्रान्ति र प्रतिगमन भएको दाबी गरेका छन्।
मदन–आश्रित प्रतिष्ठानले सभागृहमा आयोजना गरेको विचार–विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले भदौ २३ र २४ गते नेपालमा भएका घटनाहरू साधारण नभएको बताए।
उनले २४ घण्टाभित्र राज्यका तीनवटै अंग ध्वस्त पारिनु, आगजनी हुनु, राजनीतिक दलका नेताहरूमाथि आक्रमण हुनु र सार्वजनिक संरचनामा आगजनी हुनु असाधारण घटना भएको उल्लेख गरे। जननिर्वाचित सरकार र संसद् दुवै विघटन हुनु तथा न्यायपालिकामाथि आक्रमण हुनु लोकतान्त्रिक व्यवस्थामाथिको गम्भीर प्रहार भएको उनको भनाइ थियो।
थापाले भने, “नेपालमा भदौ २३ र २४ गते २४ घण्टाभित्र राज्यका तीनवटै अंग ध्वस्त बनाइयो। राजनीतिक दलका नेताहरूमाथि आक्रमण र आगजनी गरियो। यो असाधारण घटना हो। जननिर्वाचित सरकार र सदन दुवै विघटन गरियो, न्यायपालिकामा आगो लगाइयो। भदौ २३ र २४ को घटना जनविद्रोह थिएन, जनक्रान्ति थिएन, अग्रगमन थिएन—यो प्रतिगमन र प्रतिक्रान्ति थियो।”
उपाध्यक्ष थापाले वर्तमान अवस्थामा नेपाल भूराजनीतिक खेलको सिकार बनेको आरोप लगाउँदै संसद् र जननिर्वाचित सरकार विघटन गरेर लोकतन्त्र अपहरण गरिएको दाबी गरे।

