काठमाडाैं । पहिचान पुरस्कार कोषले यस वर्षको पहिचान सम्मान साहित्यकार तथा मुन्धुमविद्, साथै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलालाई प्रदान गर्ने निर्णय गरेको छ। नेपाली साहित्य, किराँत संस्कृति र पहिचान सम्बन्धी बौद्धिक क्षेत्रमा काइँलाले पुर्याएको योगदानको कदरस्वरूप उनलाई नगद रु ५ लाख २ हजार २ तथा ताम्रपत्रसहित सम्मान गरिने कोषका संस्थापक नरेश काङमाङ राईले जानकारी दिए।
त्यस्तै, पहिचानको आन्दोलन, लेखन र युवावर्गलाई उर्जा दिने गतिविधिमा सक्रिय गणेशकुमार राई ‘गीलु रातोस’ लाई यस वर्षको पहिलो पहिचान युवा सम्मान प्रदान गरिनेछ। उनलाई नगद रु ५० हजार २०२ र ताम्रपत्रसहित सम्मान गर्ने निर्णय गरिएको कोषले जनाएको छ।
पुरस्कार वितरण कार्यक्रमको मिति कोषले पछि सार्वजनिक गर्ने जनाएको छ।

