बर्षका उत्कृष्ट कृतिलाई दिईने पहिचान पुरस्कार स्थगित
काठमाडौं । पहिचान पुरस्कार कोषले वरिष्ठ कवि तथा मुन्धुमविद्, साथै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलालाई यस वर्षको पहिचान सम्मान प्रदान गर्ने निर्णय गरेको छ। प्रत्येक पाँच वर्षमा प्रदान गरिने यो प्रतिष्ठित सम्मानअन्तर्गत काइँलालाई रु ५ लाख २ हजार २ रुपैयाँ र ताम्रपत्र प्रदान गरिने कोषले जनाएको छ।
यस्तै, यस वर्ष पहिलोपटक घोषणा गरिएको पहिचान युवा सम्मान कवि तथा राजनीतिक अभियन्ता गणेश कुमार राई ‘गिलु रातोस’ लाई प्रदान गर्ने निर्णय भएको छ। युवा सम्मानको राशि रु ५० हजार २०२ रुपैयाँ र ताम्रपत्र रहेको कोषले जनाएको छ।
गणेशकुमार राई अर्थात् गिलु रातोस सिलीदुङ कवितासंग्रहका लेखक हुन् । थेवा-ला पव्लिकेसनद्वारा प्रकाशित कवितासंग्रहमा ४४ कविता संलग्न छन् ।
कोषका संस्थापक काङमाङ नरेश राईका अनुसार हरेक वर्ष पुस्तकमा प्रदान गर्दै आइरहेको पहिचान पुरस्कार यस वर्ष होल्ड गरिएको छ। यसपटक पहिचानको मुद्दामा योगदान पुर्याउँदै आएका अग्रज र युवालाई सम्मान दिन दुई छुट्टाछुट्टै पुरस्कार एकैसाथ घोषणा गरिएको हो।
यसअघि खगेन्द्र सङ्ग्रौला यस सम्मानबाट पुरस्कृत भइसकेका छन्।

