——लक्ष्मण उप्रेती
म विद्रोही हुँ!
किनकि म जान्दछु,
सम्बन्धहरू यहाँ भावना होइन,
आर्थिक सम्बन्धले निर्धारण गर्छन्।
म विद्रोही हुँ!
किनकि म देख्दछु,
धनीका उत्सव
गरिबका आँसुमा टेकेर उठ्छन्।
पैसाले किनिन्छ प्रेम,
ऋणले चिस्याउँछ माया।
म विद्रोही हुँ!
किनकि म बुझ्दछु,
सत्चरित्रले न त रोजगारी दिन्छ,
न त ईमानले भोक मेटाउँछ।
श्रम बेचेर बाँच्नेहरूलाई
श्रमकै मूल्य चुकाइदिँदैन यहाँ।
म विद्रोही हुँ!
किनकि म विश्वास गदर्छु,
पशु पंक्षीको वलीमा होइन,
भ्रष्टाचारी,ब्यभिचारीको मृत्यु दण्डमा
शोषण दमन,असमानताको अन्त्यमा
साँचो सत्पर्व आउँछ।
टीकाको रातो रंगमा होइन,
संघर्षको रक्त रंगमा यहाँ
नयाँ समाजको इतिहास लेखिन्छ।
म विद्रोही हुँ!
मलाई आफ्ना लाग्छन्,
समान पीडा बोकेका श्रमिकहरु,
समान सपना देखेका किसानहरु,
समानता खोज्ने नवयुवाहरू।
भ्रष्टाचारी पर्खालले होइन,
श्रमिकका पसिनाधाराले
नयाँ सम्बन्धहरु जन्मिन्छन्।
यसैले,
म घोषणा गर्छु:
वर्ग विभेदी पर्व होइन,विद्रोह मनाउछु!
टीका होइन,क्रान्तिमा कफन बाध्द्छु !!
सम्बन्धहरु वर्गमा सधै खोज्दछु!
बाटो सहि समानताको यहाँ रोज्दछु!!